अन्जलीको हत्या गर्ने अभियुक्त श्रीमतीकासमेत हत्यारा, यस्तो छ घटनाको कारण
जनकपुर। गत सोमबार राति ११ बजे जनकपुरधाम–४ मा १५ वर्षीया अन्जली कुमारी यादवलाको खुकुरी प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन्। हत्यामा प्रयोग गरिएको खुकुरी पनि बरामद भएको छ।
बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत अन्जलीको हत्या गर्ने साहलाई सार्वजनिक गरेको छ।
नेपाल सरकारले कुनैपनि घटनामा संलग्न रहेकालाई सार्वजनिक नगर्न सर्कुलर जारी गरेतापनि धनुषा प्रहरीले घटनाको प्रवृतिलाई मध्यनजर गर्दै विशेष अनुमति लिएर अभियुक्तलाई सार्वजनिक गरेको हो।
पक्राउ परेका अभियुक्त साह यसअघि आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पाँच वर्ष जेल सजाय बिताएर निस्किएका थिए।
के थियो घटना ?
अभियुक्त रामबाबु साह र मृतक अन्जलीकी आमा आशा यादवबीच धनुषाको महेन्द्रनगरस्थित एक पसलमा चिनजान भइ भेटघाट निरन्तर हुँदै आएको थियो।
सो क्रममा दुबै जनाले संगै बस्ने निधो गरेपछि आशा यादवलाई जनकपुरधाममा डेरा लिइ आशाकी छोरी अन्जलीसहित साहसंगै बस्ने गरेका थिए। साह कामका लागि बाहिर गइरहने हुनाले आशालाई टेम्पो खरिद गरिदिएका थिए।
तर आशाले टेम्पो आफ्नो भाइको नाममा दर्ता गराउन लगाएको अनुसन्धानमा देखिएको छ। त्यसपछि आशा यादव र अभियुक्त रामबाबु साहबीचको सम्बन्धमा चिसोपन आउन थालेको थियो। आशा यादवले रामबाबुलाई थाहा नदिई डेरा समेत अर्को स्थानमा सारेपछि दुबैबीच भनाभन सुरु भएको थियो।
आशा यादवले रामबाबुको फोनसमेत उठाउन छोडेपछि रामबाबुले खुकुरी लिएर आएर राती नयाँ डेरा पत्ता लगाइ आशा यादवमाथि निर्घात प्रहार गरेका थिए। सो क्रममा रामबाबुले अन्जलीको घाँटीमा खुकुरी प्रहार गर्दा अन्जलीको मृत्यु भएको थियो भने आशा यादव पनि गम्भीर घाइते भएकी थिइन।
अहिले आशा यादवको उपचार जनकपुरधाममा सम्भव नभएपछि धरान रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ। पक्राउ परेका साहलाई थप अनसन्धान पश्चात हदैसम्मको कारवाही गर्नेगरी अदालतमा हाजिर गर्ने धनुषा प्रहरीको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment