यस्ता छन् एमाले विधान महाधिवेशनका सम्भावित चार कार्यसूची

डिसी नेपाल
२१ साउन २०८२ १४:२५
20
Shares

काठमाडौं। नेकपा एमाले ले आगामी भदौ २० देखि २२ गते हुने दोस्रो विधान महाधिवेशनमा चारवटा मुख्य कार्यसूचीमा छलफल हुने भएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका रुपमा रहेका चार सल्लाहकार परिषद् र तीन आयोगको प्रतिवेदन प्रस्तुत हुने जानकारी दिए।

उनका अनुसार महाधिवेशनमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

यस्तै महाधिवेशनमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोग अध्यक्ष डा पुष्प कँडेल, निर्वाचन आयोग अध्यक्ष डा विजय सुब्बा र सल्लाहकार परिषद्का अमृतकुमार बोहराले प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

महाधिवेशनमा प्रस्तुत गर्ने विधान संशोधन प्रस्तावका लागि एमालेले सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीमा छलफल गरी अन्तिम रुप दिएर सुझावका लागि मातहतका कमिटीमा पठाएको छ। देशभरिबाट प्राप्त सुझावका आधारमा उपाध्यक्ष पौडेल नेतृत्वको समितिले मस्यौदालाई अन्तिम रुप दिनेछ।

एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सन्राइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ। प्रचारका लागि केन्द्रीय प्रचार विभाग प्रमुख स्थायी कमिटी सदस्य राजेन्द्र गौतमको संयोजकत्वमा प्रचार उपसमिति गठन भएको छ। कार्यदलमा केन्द्रीय प्रचार विभाग सदस्य गणेश बस्नेत, गणेश पाण्डे, श्रीधर आचार्य, चेतन अधिकारी, दीपक ज्ञवाली, विश्वमणि सुवेदी रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *