पाँचपोखरी र जटापोखरी घुम्न जानेको संख्या बढ्दै
रामेछाप। जनैपूर्णिमाको अवसर पारेर रामेछापको पाँचपोखरी र जटापोखरीमा तीर्थयात्री जाने आउनेक्रम जारी छ। रामेछापका प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलका रूपमा रहेका यी पोखरीमा साउन लागेदेखि नै यात्रुहरूको आगमन सुरु भएको हो, जुन क्रम भदौ महिनासम्म चल्ने गर्दछ।
जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने भएपनि त्यसअघि र पछिपनि दर्शनार्थी तथा पर्यटकहरू पुग्ने गरेको गोकुलगंगा गाउँपालिकाका पूर्वअध्यक्ष खड्ग सुनुवारले जानकारी दिए। उनका अनुसार हरेक वर्ष असारदेखि भदौसम्म यहाँ १० हजारभन्दा बढी पर्यटक पुग्ने गर्दछन्।

४ हजार ६ सय ५ मिटरको उचाइमा रहेको पाँचपोखरी र ४ हजार २ सय ५० मिटरमा अवस्थित जटापोखरीमा असोजपछि जाडो बढ्ने भएकाले मानिसहरू पुग्दैनन्। यी दुवै पोखरी गोकुलगंगा गाउँपालिका-१ चचुरेमा पर्छन्।
यहाँ पुग्न गोकुलगंगा गाउँपालिकास्थित रस्नालु, शिवायल र गर्जाङ हुँदै तथा दोलखाको जिरी-माली हुँदै शिवालय निस्किएर जान सकिन्छ। साथै, रामेछापको उमाकुण्ड गाउँपालिकाको गुम्देलबाट पनि यहाँ पुग्न सकिन्छ।

उच्च पहाडी क्षेत्रमा अवस्थित रमणीय प्रकृतिको आनन्द लिँदै यात्रुहरू पहिले जटापोखरी पुग्छन्। त्यहाँबाट करिब ४५ मिनेटको पैदल यात्रापछि पाँचपोखरी पुगिन्छ। बाटोमा उच्च पहाडी हावापानी, वनस्पति, जडीबुटी र झरनाले यात्रुहरूको मन लोभ्याउँछ।

रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, भक्तपुर, काठमाडौं र तराईका विभिन्न जिल्लाबाट मात्र नभई भारतको सिक्किमबाट समेत दर्शनार्थी यहाँ आउने गरेका छन्। हाल फाट्टफुट्ट तेस्रो मुलुकका पर्यटक पनि देखिन थालेका छन्।

सडक मार्ग छाडेर एक दिनको पैदल यात्रापछि जटापोखरी पुगिन्छ, जहाँ बाटोमा पर्ने चौरीगोठहरूमा खानपान र बासको सुविधा उपलब्ध हुन्छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment