साहित्य समाजमा रामलाल
धनगढी । सुदूरपश्चिमको अग्रणी साहित्यिक संस्था सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा रामलाल जोशी सर्वसम्मत निर्वाचित भएका छन्। साहित्य समाजको सभाहलमा शनिबार आयोजित ११औं अधिवेशन तथा साधारण सभाले मदन पुरस्कार विजेता तथा वरिष्ठ साहित्यकार जोशीलाई अध्यक्षमा चयन गरेको हो।
जोशी नेतृत्वमा १५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा निर्वाचित भएको छ। सदस्यमा टोपेन्द्र शाह ‘रसिक’, रुपा स्वाँर, यशोदा भण्डारी, तीथराज भण्डारी ‘गडसेरी’, गणेशबहादुर नेपाली, पुस्करराज पन्त, शान्ति जोशी, मानबहादुर साउँद, चित्रराज भट्ट, बाबुराम आचार्य, प्रेम विवस चन्द, पुष्पराज जोशी ‘पुकार’, दुर्गा कुमारी बम मल्ल, यज्ञराज जोशी र नवराज ओझालाई चयन गरिएको हो।
नेपाली साहित्यको धार सुदूरपश्चिमतर्फ फर्काउन सफल लेखक जोशीले नेतृत्व छोडेपछि सुदूरपश्चिम साहित्य समाज सुस्त मात्रै भएन अत्यन्तै संकटमा समेत परेको साधारण सभामा सरिक साहित्यकारले गुनासो व्यक्त गरे। प्रगतिशील लेखक संघका प्रदेश सल्लाहकार तथा रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष बाबुराम आचार्यले साहित्य समाजलाई साहित्यकारकै संस्था बनाउनु पर्ने धारणा व्यक्त गरेका छन्।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य जनक रसिकदेखि सुदूरपश्चिम विश्व विद्यालयका पूर्वडिन प्राध्यापक पद्मकान्त जोशी, ऐश्वर्य विद्या निकेतनका पूर्वप्रध्यानाध्यापक प्रेमनिधि ओझा, पञ्चोदय माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक यादवप्रसाद जोशी, वरिष्ठ साहित्यकार श्रेष्ठप्रिया पत्थर, समाजका पूर्वअध्यक्ष तथा वरिष्ठ साहित्यकार पद्मराज जोशी ‘प्रभात’, महाकाव्यकार तथा ज्योतिष मनिराज जोशी, संस्थापक अध्यक्ष तथा साहित्यकार यज्ञराज यात्री, कैलाली जनपुस्तकालयका अध्यक्ष शिवराज ओझा, जनआन्दोलनका घाइते तथा वरिष्ठ साहित्यकार लक्षीराम आचार्य, वरिष्ठ साहित्यकार हेमन्त ‘विवस’, वरिष्ठ डेउडा गायक तथा डेउडा प्रतिष्ठानका अध्यक्ष सुरत रावत ‘डोटेली कान्छा’, डेउडा सर्जक राजेन्द्र शाह ‘बिपी’, डेउडिया दिलबहादुर धामी, समाजसेवी मदन कुँवर, लक्ष्मण कुँवर तथा साहित्य समाजका पूर्वअध्यक्षहरू र स्वयम् अध्यक्षका आकांक्षी टोपेन्द्र शाह ‘रसिक’ समेतले पुनः एकपटक रामलाल जोशीलाई अध्यक्ष बनाउन प्रस्ताव गरेपछि सभा स्तब्द बन्यो।
जीवनको उर्वर समय साहित्य समाजको निर्माणमा वितेकोले संकटका बेला फेरि सभाले नेतृत्व लिन अनुरोध गरेपछि जोशीले अध्यक्ष स्वीकार गरेको बताए।
साहित्य समाजको संकटको बेला आफूले समाजलाई उकास्नका लागि सक्दो सहयोग गर्ने अध्यक्ष जोशीले बताए। मदन पुरस्कार विजेता तथा साहित्यकार जोशीले संस्कृतिको प्रवद्र्धन गर्न देश दर्शन अभियान, विभिन्न साहित्य महोत्सव, विश्व नेपाली साहित्य महोत्सव, विश्व नारी साहित्य महोत्सव जस्तो ऐतिहासिक कार्यक्रममार्फत् नेतृत्व गरिसकेका वरिष्ठ साहित्यकार जोशीले संकटको बेला चुनौती स्वीकारेर सेवा गर्न तयार भएको बताए।
उनले भने, ‘सुदूरको साहित्यलाई समृद्ध तुल्याउन तथा साहित्यमा नवीन जागरण ल्याउन आफूले ऊर्जाशील भूमिका निर्वाह गर्न प्रतिवद्ध छु।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment