नवरात्रको आठौं दिन, कालरात्रि देवीको पूजा आराधना गरिँदै

डिसी नेपाल
१३ असोज २०८२ ६:२४
36
Shares

काठमाडौं। वडादशैं अर्थात् नवरात्रको आठौं दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौं दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौं दिनमा पुगेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ। यस्ती देवीको स्वरुपलाई कालरात्रि भनिन्छ। कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयंकर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख छ। प्राणीलाई नष्ट गर्ने भएकैले यी देवीलाई कालरात्रि भनिएको हो।

नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।

दोस्रो दिन मंगलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो।

चौंथो दिन बिहीबार र पाँचौ दिन शुक्रबार सूर्योदय कालमा चौथी तिथि रहेकाले दुवै दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो। चौथी तिथि वृद्धि भएकाले यस वर्षको नवरात्र दशरात्र बनेको छ। छैटौं दिन शनिबार स्कन्दमाता र सातौं दिन आइतबार कात्यायनी देवीको पूजा आराधना गरियो।

आठौं दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ।

नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन्।

आश्विन शुक्ल सप्तमीका दिन आज पूजा कोठा वा दशैं घरमा फूलपाती पनि भित्र्याइँदै छ। फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ। फूलपाती भित्र्याउन साइत नचाहिने समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *