शेख हसिनालाई फिर्ता ल्याउन बंगलादेश सरकार इन्टरपोल जाने

डिसी नेपाल
३ मंसिर २०८२ ११:३३
456
Shares

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले देशका सबै सञ्चारमाध्यमहरू (छापा, टेलिभिजन र अनलाइन) लाई कडा चेतावनी दिएको छ। सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनाले दिएको अभिव्यक्ति प्रकाशित गर्नु हुँदैन भनेर स्पष्ट रूपमा भनेको छ। सरकारले राष्ट्रिय सुरक्षा चिन्तालाई कारणको रूपमा उल्लेख गरेको छ।

राष्ट्रिय साइबर सुरक्षा एजेन्सी (एनसीएसए) ले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै शेख हसिनालाई अब अभियुक्त र फरार घोषित गरिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ – उनको बयानले देशमा हिंसा भड्काउन, अशान्ति फैलाउन र सामाजिक सद्भाव बिगार्न सक्छ।

अर्कोतर्फ, अन्तरिम सरकारले अब हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई देश फिर्ता ल्याउन इन्टरपोलको सहयोग लिनेछ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) का अभियोजक गाजी एमएच तमिमले भने – उनीहरूले फैसला र पक्राउ वारेन्टको प्रतिलिपि परराष्ट्र मन्त्रालय मार्फत इन्टरपोललाई पठाउनेछन् ताकि उनलाई बंगलादेश फिर्ता ल्याउन सकियोस्।

बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित अवामी लिग पार्टीले उनलाई सुनाइएको मृत्युदण्डको विरोधमा आज देशव्यापी बन्दको आह्वान गरेको छ। अवामी लिगले ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलालाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

पार्टीले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र मन्त्रीहरूको तत्काल राजीनामा माग गरेको छ। अवामी लिग नेता जहाँगीर कबीर नानकले पार्टीको फेसबुक पेजमा एक भिडियो जारी गर्दै निर्णयलाई पक्षपाती र राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्। नानकले अदालतको प्रक्रियामाथि पनि प्रश्न उठाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *