स्थानीय उत्पादन किनबेच र भेटघाटको थलो बन्दै रामेछाप हाट

डिसी नेपाल
१७ पुष २०८२ १४:३७
44
Shares

रामेछाप । यातायात सञ्जाल विस्तारको कारण घर घरमा उपभोग्य सामान पुग्न लागेपछि स्थानीय हाट–बजारहरु बिस्तारै हराउँदै जान लागेका छन् । गाउँ गाउँमा लाग्ने हाटबजार र मानिसहरूको जमघट हिजो आज कम मात्रै देखिन लागेको छ ।

धेरै ठाउँमा हाटबजार लाग्न छाड्दा पनि रामेछापको रामेछाप बजारमा दशकौँदेखि लाग्दै आएको हाट भने अहिले पनि निरन्तर लाग्दै आएको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा बिहीबार लाग्ने हाट सामान किनबेच गर्ने थला मात्र नभएर स्थानीयको भेटघाट गर्ने थलो समेत भएको छ ।

‘पुराना इष्टमित्र, साथीभाइ भेट्नु प¥यो भने रामेछाप हाट जानुपर्छ, धेरैसँग भेटघाट हुन्छ, किनमेल नै नहुने मानिसहरु पनि भेटघाटको लागि हाट आउने गर्दछन्’, रामेछाप नगरपालिका–८ का दामोदर घिमिरे भन्छन् ।

रामेछाप हाट खसी–बोका, कुखुरा, गहत, मस्याङ, राजमा लगायतका गेडागुडी र स्थानीय फलफूल तथा तरकारीको लागि निक्कै प्रख्यात छ । यहाँको हाटमा स्थानीय किसानका उत्पादन खरिद गर्न, सिन्धुली, दोलखा,तथा काभ्रेसम्मका मानिसहरू आउने गर्दछन् ।

‘खसी–बोका र गेडागुडीको लागि रामेछाप हाट प्रख्यात छ, भेटघाट गर्ने पनि राम्रो थलो बनेको छ’, रामेछाप नगरपालिका–५ रामपुरका भरतसिं तामाङ बताउँछन् ।रामेछाप जिल्लाको सदरमुकाम रामेछाप बजारमा रहेको बेला सदरमुकाम बस्नेहरूलाई तरकारी, फलफूल तथा अन्नपात किन्न सहजताको लागि यो हाट सुरु गरिएको थियो ।

२ सय ८ वर्षसम्म सदरमुकाम बसेको रामेछाप बजारबाट २०४५ सालमा सदरमुकाम मन्थली स¥यो । तथापि रामेछाप बजारमा लाग्ने बिहीबारे हाट भने अहिले पनि यथावत् नै छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *