चक्रे मिलन गोरखा-२ मा एमालेको उम्मेदवार सिफारिस
काठमाडाैं। गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि मिलन गुरुङ (चक्रे मिलन) उम्मेदवारका रूपमा सिफारिस भएका छन्। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गुरुङको नाम प्रत्यक्षतर्फ सिफारिस भएको हो।
उनले यो निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको बताएका छन्।
गुरुङका अनुसार उनी वि.सं. २०५० सालतिरदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन् र पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील छन्। समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको कारण गोरखाली जनताले आफूलाई जिताएर संसदमा पठाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ।
देशभर ‘मिलन गुरुङ (चक्रे मिलन)’ नामले परिचित उनी लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। यसैक्रममा कहिलेकाहीँ आफूलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दुःख दिने प्रयास भएको भए पनि आफू एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको उनले स्पष्ट पारे। “म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो,” उनले गुनासो गरे।
यसैबीच, मिलन गुरुङको उम्मेदवारीबारे प्रतिक्रिया दिँदै युवा संघका केन्द्रीय सदस्य तथा गोरखाका युवा नेता प्रविण अधिकारीले भने, “जो कोही निस्वार्थ रूपमा राजनीति र समाजसेवाका लागि अघि बढ्छन्, त्यस्ता व्यक्तित्वलाई गोरखामा स्वागत गर्नुपर्छ।” उनले थपे, “आज गोरखाका आम युवा मात्र होइन, Gen-Z पुस्ताको समेत साझा उम्मेदवारका रूपमा मिलन गुरुङलाई हेरिएको छ। युवाको वास्तविक आवाज संसदसम्म पुर्याउन उनी सक्षम नेतृत्व हुन्।”
स्थानीयस्तरमा बढ्दो जनसमर्थन, युवापुस्ताको उत्साह र Gen-Z हरुको साझा उम्मेदवारको रूपमा स्थापित हुँदै गएको मिलन गुरुङको उम्मेदवारीले गोरखा क्षेत्र नं-२ को राजनीतिक वातावरणलाई थप चर्काएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment