बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन चौतर्फी दबाब

डिसी नेपाल
९ माघ २०८२ १३:३४
44
Shares

काठमाडौं । गोरखा-२ मा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई उम्मेदवारी फिर्ता लिन चौतर्फी दबाब परेको छ । भट्टराईलाई यसअघि आफ्ना पुराना सहयात्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यस्तै आग्रह गरेको छ ।

गोरखा २ मा नेकपाले अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष लेखनाथ न्यौपानेलाई उठाएको छ । यस्तै रास्वपाले महामन्त्री कविन्द्र बुर्लाकोटीलाई उम्मेदवार बनाएको छ । भट्टराईले नेकपाका उम्मेदवार न्यौपानेलाई भेटेर उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए तर न्यौपानेले अस्वीकार गरे । बरू, नेकपाका संयोजक प्रचण्डले फोनमा उल्टै भट्टराईलाई नै ब्याक हुन आग्रह गरे ।

पछि रास्वपाका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले भट्टराईलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । वाग्लेले भनेका छन् – ‘फागुन २१ को आसन्न निर्वाचनमा गोरखा क्षेत्र न. २ बाट उम्मेदवार रहनुभएका डा. भट्टराईलाई उम्मेदवारी फिर्ता लिई आगामी दिनमा राजकाजका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई उदारतापूर्वक सघाइ अनुकरणीय देशभक्तिपूर्ण उदाहरण प्रस्तुत गर्नहुन विनम्र अनुरोध गर्दछौं।’

‘पूर्व प्रधानमन्त्रीका रूपमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीलाई मार्गनिर्देश गर्न वरिष्ठ अभिभावकीय भूमिका निभाउन सक्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ वाग्लेले भनेका छन्, ‘फागुन २१ पछि रास्वपाकै नेतृत्व वा सहभागितामा बन्न सक्ने संघीय सरकारको राजनीतिक–प्रशासनिक एवं सुशासन र विकाससँग सम्बन्धित संक्रमणकालीन व्यवस्थापनमा उहाँको अनुभवबाट सिक्दै हामीले धेरै गर्नुछ ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *