कविता : जीवन नाटक भयो
आफैंलाई भुलेर आफैंलाई खोज्नुपर्ने
आफ्नै सपनाहरू भूलेर सपनाहरू खोज्नुपर्ने
जीवनले कस्तो कस्तुरीको मोहर खोल्यो
आफ्नै हातहरू झुकाएर साहारा खोज्नुपर्ने।
जीवनलाई जीवन सीकाउन आफैं सकिनुपर्ने
आफैंलाई भाषा बुझाउन आफैं लाटो हुनुपर्ने
जीवनले कस्तो कलाकार बनाएरै छोड्यो
आफू आफैं हुनलाई नाटककार बनाएर छाड्यो।
मायाको स्वरूपमा अस्तित्वको अंगार भेटिन्छ
आफैंमा खोजी हिँड्दा अन्तरामा दरार देखिन्छ
जीवनले कस्तो प्रकारको दृष्टि बनाएर छाड्यो
आफ्नै आँखाहरूले आफैंलाई देख्न छाड्यो।
आफ्नै पाइलाहरूमा आफ्नै चाहाना भेटिँदैन
आफ्नैं जीवन रोहवरमा छ कस्तो जीवन चलिरहेछ
आफ्नै जीवन भन्दा भन्दै जीवन पराधीन भयो
आफ्नै हो भन्दा भन्दै कस्को पो भयो जीवन।
खुशीहरू सापट लिनुपर्ने जीवन तिर्नै गारो भयो
सपनाहरू रोज्नुपर्ने आफ्नै आखाँ घाँडो भयो
नयाँ प्रकारको चेत पलायो आबाजनै बन्द भयो
आफैंलाई भन्दा भन्दै आफ्नै जीवन नाटक भयो
No ads found for this position




Facebook Comment