प्रेमको उत्सव :‘भ्यालेन्टाइन डे’

आकांक्षा धामी
२ फागुन २०८२ ७:३२
4
Shares

काठमाडौं। आज १४ फेब्रुअरी, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे। विश्वभरिका करोडौँ प्रेमी–प्रेमिकाहरूको लागि महान् दिन। खासगरी युवायुवतीहरूले एक अर्काबीच प्रेम व्यक्त गर्ने, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने अवसरको रूपमा लिइन्छ यो दिनलाई।

हरेक वर्ष फेब्रुअरी १४ मा मनाइने ‘भ्यालेन्टाइन डे’ केवल एक दिन मात्र होइन, यो प्रेम, समर्पण र आत्मीयताको उत्सव हो। यो दिनले हामीलाई सम्झाउँछ माया भन्नु केवल शब्द होइन, अनुभूति हो; केवल साथ हुनु होइन, साथ निभाउनु हो।

प्रेम कुनै सीमामा बाँधिँदैन। यो न उमेरले छेक्छ, न दूरीले रोक्छ। प्रेम त्यो मिठो अनुभूति हो, जहाँ दुई हृदयहरू एक अर्काको धड्कन सुन्न सक्छन्। भ्यालेन्टाइन डेको अवसरमा महँगो उपहार आवश्यक छैन। एउटा हातले लेखिएको चिठी, मनपर्ने फूल, वा सँगै बिताएको केही क्षण यी नै साँचो उपहार हुन्। प्रेम देखाउनका लागि शब्दभन्दा बढी भावना चाहिन्छ।

साँचो प्रेम केवल रमाइलो क्षणहरूमा मात्र होइन, अप्ठ्यारो परिस्थितिमा पनि अडिग रहन्छ। प्रेम भनेको एक अर्काको कमजोरीलाई स्वीकार्दै, भविष्यका सपनाहरू सँगै बुन्ने साहस हो।

भ्यालेन्टाइन डे केवल प्रेमी प्रेमिकाको दिन मात्र होइन, यो आत्मीयता, सम्मान, विश्वास र भावनात्मक सम्बन्धको उत्सव पनि हो । बदलिँदो समयसँगै यसको स्वरूप फराकिलो बन्दै गएको छ। आज यो दिन प्रेमी जोडीसँगै परिवार, साथीभाइ र आफन्तप्रति स्नेह व्यक्त गर्ने अवसरका रूपमा समेत मनाउन थालिएको छ।

प्रेम कुनै देखिने वस्तु होइन, तर यसको प्रभाव जीवनभर महसुस गर्न सकिन्छ। प्रेम त्यस्तो भावना हो जसले मानिसलाई सकारात्मक बनाउँछ, आत्मविश्वास बढाउँछ र जीवनलाई अर्थपूर्ण बनाउँछ। साँचो प्रेममा अधिकारभन्दा बढी विश्वास हुन्छ, र अपेक्षाभन्दा बढी समझदारी।

भ्यालेन्टाइन डेमा धेरैले फूल, चकलेट, उपहार वा विशेष डेटमार्फत प्रेम व्यक्त गर्छन्। तर प्रेमको मूल्य उपहारको महँगोपनले होइन, भावनाको गहिराइले मापन हुन्छ । कहिलेकाहीँ एउटा इमानदार सन्देश, एउटा स्नेहिल अँगालो, वा सँगै बिताएको केही शान्त क्षण नै सबैभन्दा ठूलो उपहार बन्न सक्छ।

सम्मान, संवाद र सहकार्यबिना कुनै पनि सम्बन्ध दीगो हुन सक्दैन। त्यसैले प्रेम व्यक्त गर्ने दिनको रूपमा मात्र होइन, सम्बन्धलाई सुदृढ बनाउने अवसरका रूपमा पनि यस दिनलाई लिन आवश्यक छ।

आजको विश्वमा धेरै प्रेमिल जोडीहरू अध्ययन, रोजगारी वा अन्य कारणले एक देशबाट अर्को देशमा बसिरहेका हुन्छन्। दूरीले भेटघाट कठिन बनाइदिए पनि प्रविधिले सम्बन्धलाई जोडिराख्ने माध्यम दिएको छ। यद्यपि, भौगोलिक दूरीका कारण यो दिन कतिपयका लागि भावनात्मक रूपमा चुनौतीपूर्ण पनि बन्न सक्छ। यस्तो अवस्थामा उपहारभन्दा बढी विश्वास, नियमित संवाद र आपसी समझदारीले सम्बन्धलाई मजबुत बनाउँछ।

नेपालजस्तो विविध संस्कृतिले भरिएको समाजमा भ्यालेन्टाइन डे मनाउने तरिका फरक फरक छ। कतिपयले यसलाई आधुनिक प्रभावका रूपमा हेर्छन् भने कतिपयका लागि यो सम्बन्धलाई पुनः स्मरण गर्ने अवसर हो। अझै पनि नेपाली समाजमा यो दिनलाई अनिवार्य रूपमा मनाउनैपर्छ भन्ने व्यापक सोच छैन, तर विस्तारै युवापुस्तामाझ यसको स्वीकार्यता बढ्दै गएको देखिन्छ।

भ्यालेन्टाइन डे केवल प्रेमी प्रेमिकाको दिन मात्र होइन; यो परिवार, साथीभाइ र आफन्तप्रति स्नेह, सम्मान र कृतज्ञता व्यक्त गर्ने अवसर पनि हुन सक्छ । प्रेम आफैंमा सार्वभौमिक मूल्य हो, जसले भाषा, संस्कार र सीमाना पार गरेर मानिसलाई एकआपसमा जोड्छ।

सप्ताहकै रूपमा भ्यालेन्टाइन डे

‘भ्यालेन्टाइन डे’ लाई विभिन्न मुलुकमा सप्ताहकै रूपमा साताभरि मनाउने गरिन्छ। जस्मा सप्ताहको पहिलो दिन रोज डे, दोश्रो दिन प्रपोज डे, तेस्रो दिन चकलेट डे, चौथो दिन टेड्डि डे, पाँचौं दिन प्रमिस डे, छैटौ दिन हक डे, सातौँ दिन किस डे र अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ। यस दिनमा युवायुवतीहरू एकान्त ठाउँ, पार्क तथा विभिन्न स्थानमा डेटिङ जाने गर्छन् । प्रेम दिवस विशेष गरी ग्रामीण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढी लोकप्रिय छ।

इतिहासको कुरा

संसारभर लोकप्रिय भ्यालेन्टाइन डे को इतिहास रोचक छ। यसको इतिहास एक महान् प्रेमीको वलिदानसँग जोडिएको छ। तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको भ्यालेन्टाइन डे को खास अर्थ फर्केर हेर्दा पादरी सेन्ट भन्यालेन्टाइनको वलिदानी जोडिएको छ।

तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरु प्रेम र विवाहतिर लागेमा सैनिक सेवा प्रभावित हुन्छ भन्ने ठानेर यसलाई प्रतिबन्ध लगाएका थिए। तर पादरी सेन्ट भ्यालेन्टाइन भने यो निर्णयलाई मानव धर्मविरुद्ध भएको ठान्दथे। त्यसपछि भ्यालेन्टाइनले सम्राटको आदेश विपरित लुकिछिपी विभिन्न जोडीहरूको बिहे गराइदिन थाले।

पादरीले बिहे गराइ दिएको खबर एक कान दुई कान मैदान हुँदै सम्राटसम्म आइपुग्यो। र, सम्राटको आदेशमा भ्यालेनटाइनलाई प्रक्राउ गरी जेलमा थुनियो। अनि मृत्युदण्ड दिने निर्णय गरियो। भ्यालेनटाइनलाई झुण्ड्याउनु अगाडि उनले ‘लभ फ्रम भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरी एउटा नोट एक महिलालाई दिएका थिए।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन झुण्ड्याइएको थियो। उनलाई मृत्युुदण्ड दिएको दिनलाई नै प्रेमको विशेष दिनको रूपमा भ्यालेन्टाइन डे भनेर मनाउन थालिएको हो। भ्यालेन्टाइनले ती महिलालाई प्रेमको बारेमा दिएको उक्त लिखित नोटलाई आज पनि उत्तिकै विश्वास मानिन्छ। भ्यालेन्टाइन डे का दिन आफ्नो सन्देश खवर लेखेर प्रेमी प्रेमिकालाई दिने चलन पछि चल्यो।

विशेषगरी फेब्रुअरी महिनालाई प्रेम र शान्तिको महिना पनि भनेर चिनिन्छ। यस अवसरमा जसरी युवायुवती तथा प्रेमप्रेमिकाहरु प्रेम र विश्वासको प्रतीकको रूपमा मनाइरहेका छन् यो दिवस, यसैगरी सदैव एक अर्काबीच विश्वासको आभास भइराखोस्। यही छ मेरो सबै जोडीहरुमा शुभकामना। शुभ प्रेम दिवस।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *