गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले गृहमन्त्रीको तत्काल राजीनामा माग गरेको छ। मंगलबार सह–संयोजक दीपक रानाद्वारा जारी प्रेस विज्ञप्ति मार्फत आफ्ना प्रवक्ता विजय शाहको मोबाइल नियन्त्रणमा लिइएको घटनालाई राज्य संयन्त्रको दुरुपयोगको खतरनाक उदाहरण भएको भन्दै गृहमन्त्रीको तत्काल राजीनामा माग गरेको हो।
जेनजी मुभमेन्ट नेपालले नैतिकता गुमाइसकेका गृहमन्त्रीले आलोचनात्मक आवाज दबाउन राज्य शक्ति प्रयोग गरिरहेको आरोप लगाउँदै उनलाई पक्राउ गरी छानबिन गर्नुपर्ने माग गरेको छ।
‘नैतिकता गुमाइसकेका गृहमन्त्रीले आलोचनात्मक आवाज दबाउन राज्य शक्ति प्रयोग गरिरहेका छन्। उनलाई संरक्षण गर्ने होइन, पक्राउ गरी छानबिन गर्नुपर्छ। त्यसैले गृहमन्त्रीको तत्काल राजीनामा हाम्रो स्पष्ट माग हो। हामी सरकारसँग विजय शाहको पूर्ण सुरक्षा सुनिश्चित गर्न माग गर्दछौं। उहाँलाई कुनै क्षति पुगेमा त्यसको जिम्मेवारी सरकार स्वयंले लिनुपर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा काठमाडौंमा आज दिउँसो विजय शाहलाई पछ्याएर मोबाइल नियन्त्रणमा लिइएको घटना केवल आपराधिक नभई राज्य शक्ति दुरुपयोगको संकेत भएको उल्लेख गरिएको छ।
विज्ञप्तिमा गृहमन्त्रीको निर्देशनमा सिभिल प्रहरी परिचालन गरिएको हो वा गुण्डा प्रयोग गरिएको हो भन्ने प्रश्न उठाउँदै यसको तत्काल जवाफ आवश्यक रहेको जनाइएको छ।
संगठनले विजय शाहको पूर्ण सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दै उनलाई कुनै क्षति पुगे त्यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी दिएको छ।
विज्ञप्तिमा भदौ २३–२४ को आन्दोलनमा बालेन शाहको आह्वानमा आफूहरू सडकमा लड्न गएको स्मरण गराउँदै युवाहरूको भावनालाई उक्साएर सत्तामा पुगेकाहरूले अहिले विश्वासमाथि धोका दिएको आरोप पनि लगाइएको छ।
जेनजी मुभमेन्ट नेपालले बालेन शाहलाई जनताको बलिदानमाथि राजनीति नगर्न, बिचौलिया र भ्रष्ट तत्वको संरक्षण बन्द गर्न तथा पारदर्शिता र विधिको शासन सुनिश्चित गर्न आग्रह गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘भाद्र २३–२४ को आन्दोलनमा बालेन शाहको आह्वानमा हामी सडकमा लड्न गएका थियौँ। युवाहरूको भावनालाई उक्साएर सत्तामा पुगेकाहरूले अहिले त्यही विश्वासमाथि धोका दिइरहेका छन् – खै पारदर्शिता ? खै जिम्मेवारीवोध ? वालेन शाहलाई चेतावनी छ ; जनताको बलिदानमाथि राजनीति नगर्नुहोस्। बिचौलिया र भ्रष्ट तत्वको संरक्षण बन्द गर्नुहोस्। पारदर्शिता र विधिको शासनका लागि भएको लडाईंमा ७६ जना मानिसको बलिदानी भएको कुरा मनन गर्नुस्।’








डिसी नेपाल







Facebook Comment