अर्थमन्त्री वाग्लेसँग अमेरिकाका सहायक विदेश कुपरले भेट
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग संयुक्त राज्य अमेरिकाका सहायक विदेशमन्त्री एसपल कुपरले शिष्टाचार भेटवार्ता गरेका छन्।
अर्थ मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपालमा हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन र द्विपक्षीय सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
उक्त छलफलमा अर्थमन्त्री डा वाग्लेले सरकारको मुख्य प्राथमिकता सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पुर्वाधार निर्माण रहेको उल्लेख गरेका थिए।
उनले पुराना अनावश्यक कानुनको खारेजी र नयाँ कानुन निर्माणद्वारा आर्थिक सुधार र लगानीको वातावरण सृजना गर्नु सरकारको प्राथमिकता रहेको बताएका थिए।
अमेरिकी लगानीकर्ता तथा गैरआवासीय नेपाली लगानीकर्ताबाट विशेषगरी पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधिका क्षेत्रमा लगानी अपेक्षित रहेको सो अवसरमा उनले बताएका थिए।
अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल र अमेरिकाबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विचार व्यक्त गरेका थिए। हालै सम्पन्न शान्तिपूर्ण निर्वाचनपश्चात गठित वर्तमान सरकारले लिएको सुधारका कार्यक्रमलाई अमेरिकी राष्ट्रपति र अमेरिकी जनताले सकारात्मक रूपमा नजिकबाट हेरिरहेको बताएका थिए।
सफल व्यापारिक सम्बन्ध र अमेरिकी अन्तरराष्ट्रिय वित्त विकास सहयोगजस्ता संस्थासँगको साझेदारीमा दुवै राष्ट्रले लाभ लिन सक्ने विषयमा सहायक विदेश मन्त्रीले जोड दिएका थिए।
उक्त बैठकमा अर्थ सचिव डा घनश्याम उपाध्याय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि अमेरिकाका कार्यवाहक राजदुत स्कोट अर्बोमसँगै अमेरिकी राजदूतावासका पदाधिकारीको उपस्थति रहेको थियो।







डिसी नेपाल







Facebook Comment