लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

डिसी नेपाल
१० वैशाख २०८३ २०:४६

काठमाडौं। लागूऔषधसहित प्रहरीले देशका विभिन्न स्थानबाट १२ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्राम सहित कञ्चनपुर बेदकोट नगरपालिका-७ बस्ने २० वर्षीय अरूण चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा समेतबाट खटिएको प्रहरीले महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको सु.प.प्र.०१-००२ ख १३३७ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरी डेरा गरी बस्ने ४७ वर्षीय दिपक श्रेष्ठलाई नियन्त्रित लागूऔषध फेनारगन ७ सय एम्पुल, डाईजेपाम ७ सय एम्पुल र नोर्फिन ७ सय एम्पुल सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। उक्त स्थानमा खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

मोरङको उर्लाबारी नगरपालिका-९ बस्ने बल बहादुर श्रेष्ठलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट, डाइक्लोमाइन ४ सय ५६ ट्याब्लेट र स्पास्पेन २३ ट्याब्लेट सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो।

कैलालीको गोदावरी नगरपालिका-४ गोदावरीस्थित डिएन रूद्र प्लाजा होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित ४ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ बस्ने २५ वर्षीय दिपक सुबेदी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-८ बस्ने २३ वर्षीय प्रकाश ठगुन्ना, सोही नगरपालिका-१० बस्ने २७ वर्षीय दिपक भट्ट र सोही नगरपालिका-११ बस्ने ३० वर्षीय अर्जुन ऐर रहेका छन्। प्रदेश प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-१३ श्रीलंका मुक्त कमैया टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय आशा चौधरी र गोदावरी नगरपालिका-५ बस्ने ३० वर्षीय घुम्न राना रहेका छन्। प्रहरी चौकी कैलाली गाउँबाट खटिएको प्रहरीले आशाको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी कैलालीको टीकापुर नगरपालिका-१ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय पवन नेपाली र २० वर्षीय निशान्त कार्की रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले पवनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो।

उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट अवैध लागूऔषध गाँजा करिब २७ किलोग्राम सहित सोही नगरपालिका-८ माजटोल बस्ने २५ वर्षीय अशोक राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरीले प्र.०१-००१ ह १८८१ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी चालक अशोकलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *