अब सात दिनअघि नै थाहा हुनेछ मौसम, प्रविधि विस्तारमा मन्त्री श्रेष्ठको जोड

डिसी नेपाल
२४ वैशाख २०८३ ७:१७

काठमाडौं। मनसुन नजिकिँदै गर्दा विपद् पूर्वतयारी र मौसमी सूचना प्रवाहको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन्।

मन्त्री श्रेष्ठले विभागका अधिकारीहरूसँग हालको मौसम अवस्था, २४ घण्टे तथा तीन दिने पूर्वानुमान र बाढी सम्बन्धी पूर्व सूचना प्रणालीका बारेमा विस्तृत छलफल गरे।

छलफलका क्रममा मन्त्री श्रेष्ठले विभागलाई थप प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिँदै हालको तीन दिने पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्म पुर्‍याउन मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए।

मनसुनको समयमा हुनसक्ने सम्भावित जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउँदै लक्षित समुदायसम्म समयमै पुर्‍याउन उनले निर्देशन समेत दिए।

मन्त्री श्रेष्ठले विभागलाई केवल सूचना दिने निकाय मात्र नभई मौसमको अध्ययन केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा राखे। सीमित स्रोत साधन र जनशक्तिका बाबजुद निरन्तर खटिने कर्मचारीहरूको कामको प्रशंसा गर्दै उहाँले प्राविधिकहरूका लागि प्रोत्साहनका कार्यक्रम ल्याउने आश्वासन पनि दिए।

उक्त अवसरमा जलस्रोत सचिव सरिता दवाडी र विभागकी महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागको वर्तमान गतिविधि, बाढी पूर्वसूचना प्रणाली र आगामी कार्ययोजनाका बारेमा मन्त्रीलाई जानकारी गराउनुभएको थियो। कार्यक्रममा चालु आर्थिक वर्षको समीक्षा र आगामी वर्षका कार्यक्रमहरूका बारेमा पनि विशेष चर्चा गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *