बजेट दुरुपयोग होइन, कार्यान्वयन गर्नुस् : मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी स्रोतबाट आएको बजेटको प्रभावकारी कार्यान्वयन गर्न सुझाएका छन्।
सुर्खेतको बराहताल गाउँपालिका–८ को नवनिर्मित वडा कार्यालयको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले सङ्घ, प्रदेश र स्थानीय तहबाट प्राप्त बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न वडा तहको महत्वपूर्ण भूमिका रहेको बताए। उनले सरकारी स्रोतबाट आएको बजेट सबै नागरिकले आफ्नो सम्पत्ति सम्झेर संरक्षण र सदुपयोग गर्नुपर्ने बताए।
‘जनप्रतिनिधि र कर्मचारीको काम राम्रो भए जनताले विश्वास गर्छन्,’ मुख्यमन्त्री कँडेलले भने, ‘हामी सार्वजनिक पद धारण गरेकाहरुले जनतालाई विश्वास दिलाउन सक्ने गरी काम गर्नुपर्छ।’
विकास निर्माणका योजना पारदर्शी र परिणाममुखी ढङ्गले अघि बढाउन जनप्रतिनिधि तथा स्थानीय समुदायको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। सूचना र प्रविधिको पहुँच व्यापक बनेको अवस्थामा कसैले बहाना एवं ढाँट्न नपाउने र देशभरका गतिविधि मोबाइलमार्फत सहजै थाहा पाउन सकिने भन्दै मुख्यमन्त्री कँडेलले जनताले सरकारका कामलाई नजिकबाट नियालिरहेकाले विकासका काम उनीहरुमाझ स्पष्ट पार्नुपर्ने धारणा राखे।
मुख्यमन्त्री कँडेलले भने, ‘आफ्नो ठाउँको विकास आफैँले गर्ने हो। समय बिताउने कि सम्झनलायक काम गर्ने भन्ने कुरा अब हामीले तय गर्नुपर्छ। राम्रो काम गर्नेलाई जनताले आफैँ नेतृत्वमा ल्याउँछन्। यसमा जनप्रतिनिधिहरुले जिम्मेवार र जनमुखी कार्यशैली अपनाएर काम गर्नुपर्छ। विकासलाई साझा अभियानका साथ अगाडि बढाउन सबै पक्ष एकजुट हुनुपर्छ।’







डिसी नेपाल







Facebook Comment