प्रधानमन्त्रीले संसद्को अपमान गरेको विपक्षीको आरोप, राजीनामाको माग
काठमाडौं। संघीय संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित नभएपछि विपक्षी दलहरूले चर्को विरोध गर्दै उनको राजीनामा माग गरेका छन्।
सरकारको सबैभन्दा महत्त्वपूर्ण दस्तावेजमाथि छलफल भइरहँदा सरकार प्रमुख नै सदनबाट गायब हुनु संसदीय गरिमाको अपमान भएको विपक्षी सांसदहरूको तर्क छ।
बैठक सुरु हुनासाथ विपक्षी बेन्चका सांसदहरूले उभिएर विरोध जनाएका थिए। उनीहरूले प्रधानमन्त्रीले संसद्लाई उपेक्षा गरेको र जनप्रतिनिधिहरूले उठाएका प्रश्नको सामना गर्न डराएको आरोप लगाएका छन्।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाहरूको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने संवैधानिक र नैतिक दायित्व भए पनि उनी उपस्थित नहुनुले सरकार संसद्प्रति अनुत्तरदायी रहेको पुष्टि हुने उनीहरूले बताएका छन्।
विपक्षी सांसदहरूले ‘संसद् छल्ने प्रधानमन्त्रीले पदमा बस्ने नैतिकता गुमाएको’ भन्दै तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिका कारण केही बेर संसद्मा होहल्ला र अवरोधको स्थिति समेत सिर्जना भएको थियो।
विपक्षीको अवरोधका बीच सभामुखले सदनको मर्यादा कायम राख्न र प्रधानमन्त्रीको उपस्थितिको सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।







डिसी नेपाल







Facebook Comment