विपक्षीद्वारा संसद् अवरुद्ध, १५ मिनेटका लागि बैठक स्थगित

डिसी नेपाल
३० वैशाख २०८३ १३:२६

काठमाडौं। प्रतिनिधिसभाको बुधबारको बैठकमा विपक्षी दलहरूको चर्को विरोध र अवरोधका कारण सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा उपस्थित नभएपछि विपक्षी दलहरूले सदन चल्न नदिएका हुन्।

आजको बैठकको कार्यसूचीमा नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाहरूको प्रधानमन्त्रीले जवाफ दिने उल्लेख भए तापनि प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने तयारी गरेका थिए।

प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने अडान राख्दै विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि संसद्मा असहज परिस्थिति सिर्जना भएको हो।

विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्लाई बेवास्ता गरेको र कार्यकारी प्रमुखको उत्तरदायित्वबाट पन्छिन खोजेको आरोप लगाएका छन्।

विपक्षीको नाराबाजी र अवरोधका बीच बैठक अगाडि बढ्न नसकेपछि सभामुख अर्यालले सहमतिको प्रयास र स्थितिलाई शान्त पार्न बैठक केही समयका लागि स्थगन गर्ने निर्णय लिएका हुन्। अब बस्ने बैठकमा प्रधानमन्त्रीको उपस्थिति हुन्छ वा हुन्न भन्ने विषयमा अन्योल कायमै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *