विराट कोहलीको विष्फोटक शतक: कोलकातालाई हराउँदै बेन्गलुरु अंक तालिकाको शीर्ष स्थानमा

डिसी नेपाल
३१ वैशाख २०८३ ६:४३

रायपुर। स्टार ब्याटर विराट कोहलीको सानदार अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बेन्गलुरु (आरसिबी) ले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले स्तब्ध पारेको छ।

रायपुरमा बुधबार राति सम्पन्न रोमान्चक खेलमा कोलकाताले प्रस्तुत गरेको १९३ रनको चुनौतीपूर्ण लक्ष्यलाई आरसिबीले १९.१ ओभरमा मात्र ४ विकेट गुमाएर सफलतापूर्वक पूरा गर्‍यो। यो जितसँगै आरसिबी लिगको अंक तालिकामा शीर्ष स्थानमा उक्लन सफल भएको छ।

आरसिबीको जितका मुख्य सुत्रधार रहेका विराट कोहलीले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै ६० बलमा अविजित १०५ रनको विष्फोटक इनिङ्स खेले।

कोलकाताका बलरहरूमाथि पूर्ण रूपमा हाबी भएका कोहलीले आफ्नो उत्कृष्ट प्रदर्शनका लागि ‘प्लेयर अफ द म्याच’ को अवार्ड समेत प्राप्त गरे। टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रनको बलियो योगफल खडा गरेको थियो।

कोलकाताका लागि युवा ब्याटर अंगकृष रघुवंशीले ४६ बलमा ७१ रनको योगदान दिए भने अन्त्यतिर रिंकु सिंहले २९ बलमा अविजित ४९ रन जोडेका थिए। त्यस्तै फिन एलेनले १८ र क्यामरन ग्रीनले ३२ रन बनाए पनि उनीहरूको यो योगदान टोलीलाई जिताउन पर्याप्त भएन।

यस जितपछि आरसिबीले १२ खेलबाट १६ अंक जोड्दै तालिकाको पहिलो स्थान सुरक्षित गरेको छ। समान अंक भए पनि गुजरात टाइटन्स नेट रनरेटका आधारमा दोस्रो स्थानमा खुम्चिएको छ।

हारसँगै ११ खेलबाट ९ अंक मात्र रहेको कोलकाता नाइट राइडर्स भने तालिकाको आठौँ स्थानमा यथावत छ। कोहलीको यो लयले आगामी खेलहरूमा आरसिबीको मनोबल थप उच्च बनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *