कविता : म बोरे हुँ
म दलदास
मानसिकताले
गिदि भरिएको बोरे हुँ।
बोरे हुनलाई बोरै बोक्नुपर्छ भन्ने छैन
केवल जयजयकार र भक्तिभावले
स्वामीहरुको चरणमा झुके पुग्छ
पाउ परे हुन्छ
जसो तसो ताली पड्काए हुन्छ
किनकी म बोरे हुँ।
बुढा थोत्रा मगज बोक्ने झोलेहरु
तिमिहरु पनि बोरा बोक्नुपर्छ
तिमिहरु भित्र पनि
झोलै-झोलाको पोको “बोरा” छ
अब तिमिहरु पनि बोरे बन्नुपर्छ।
शुन्य चेतनाले
विवेकलाई पाउमा चढाएर
बा , दाइ , सुप्रिमो र भगवानहरुको
बोरा बोक्न पाउनु गर्व हो,भन्नुपर्छ
यदि बोरा च्यात्तिएको भए
नयाँ बोरेहरुले धोक्रो बोक्नुपर्छ।
झोले , बोरे र धोक्रे
आ-आफ्नाको बचाउमा लाग्नुपर्छ
कलम चलाउनेहरुका हात भाँच्नुपर्छ
बुद्धिमा बिर्को लगाउनुपर्छ
देशमा एउटा तानाशाह जन्माउनुपर्छ।
प्रतिक्रिया















Facebook Comment