लघुकथा : अन्तिम बिसौनी

योगी नारायणनाथ
९ जेठ २०८३ ६:५९

अँध्यारो सुरुङको अर्को छेउमा एउटा विशाल ढोका थियो, जहाँ सुनौलो अक्षरमा लेखिएको थियो-‘मरेपछिको संसार’।

पृथ्वीको प्रख्यात र धनी उद्योगपति सुबोध सुवेदी भर्खरै आफ्नो आइसियुको शय्या छोडेर यहाँ आइपुगेका थिए। उनको अगाडि एउटा साधारण काठको मेचमा एकजना अधबैंसे व्यक्ति सेतो कागजको पाना पल्टाउँदै बसिरहेका थिए।

“भित्र जान पाइन्छ?” सुबोधले आफ्नो पुराना रवाफिलो स्वरमा सोधे।

“पाइन्छ, तर तिम्रो भारी यहाँ बाहिरै छोड्नुपर्छ,” ती व्यक्तिले टाउको नउठाई भने।

“भारी? मसँग त केही पनि छैन। म त खाली हात आएको छु,” सुबोधले आफ्नो कुर्ताको रित्तो खल्ती छाम्दै भने।

“मानिसहरू शरीर त पृथ्वीमै छोडेर आउँछन्, सुबोध! तर अहङ्कार, रिस, र पदको भारी मस्तिष्कमा बोकेरै यहाँसम्म आइपुग्छन्,” ती व्यक्तिले उनको आँखामा हेर्दै गम्भीर स्वरमा भने, “म यो ढोकाको पाले हुँ। भित्र छिर्नुअघि तिमीले पृथ्वीमा के कति कमायौ, त्यसको हिसाब चाहिन्छ।”

सुबोधको अनुहारमा गर्वको चमक आयो। उनी मख्ख पर्दै कुर्सीमा ढल्किए र भने, “ओहो, हिसाब? त्यसो भए सुन्नुस्। मैले काठमाडौँमा तीनवटा महल बनाएँ, बैंकमा अर्बौँको ब्यालेन्स छ, र समाजमा मेरो नाम सुन्नेबित्तिकै मानिसहरू आदरले शिर झुकाउँथे। मैले यति धेरै कमाएको छु कि मेरो सात पुस्तालाई पुग्छ।”

पालेले उनको कुरा सुनेर लामो सुस्केरा हाले। उनले आफ्नो पानामा केही कोरे जस्तो गरे र शान्त स्वरमा सोधे, “मैले तिम्रो माटोको महल र कागजका नोटहरूको कुरा गरेको होइन। मैले त चेतनाको खाताको कुरा गरेको। तिमीले कसैलाई निःस्वार्थ दिएको ओठको मुस्कान कति छ? कसैको आँसु पुछ्दा पलाएको आत्मसन्तुष्टि कति छ? तिमीभित्रको आन्तरिक शान्ति कति छ? त्यो भन।”

सुबोध अक्क न बक्क भए। उनले आफ्नो अतितको पाना पल्टाएर हेरे-त्यहाँ केवल प्रतिष्पर्धा, षड्यन्त्र, पैसाको दौड र अरूलाई पछारेर अघि बढेका खैरा यादहरू मात्र थिए। शान्ति र निश्छल आनन्दको त एउटा कण पनि थिएन।

“त्यो त… मैले कहिल्यै कमाउनै भ्याइनँ,” सुबोधको स्वर पहिलोपटक काँप्यो।

“त्यसो भए तिमी पूर्ण रूपमा कङ्गाल छौ,” पालेले कठोर सत्य ओकल्यो, “यहाँको मुद्रा नै ‘सत्कर्म’ र ‘सन्तुष्टि’ हो। तिमीले पृथ्वीमा जे कमायौ, त्यो यहीँ छोड्नुपर्ने रहेछ; र जे कमाउनुपर्ने थियो, त्यो तिमीले कमाउँदै कमाएनौ।”

सुबोधको सातो गयो। उनले डराउँदै सोधे, “अब मेरो के हुन्छ? मलाई कुन नर्कमा पठाइँदैछ? कस्तो सजाय पाइने हो यहाँ?”

पाले बिस्तारै आफ्नो मेचबाट उठे। उनले ‘मरेपछिको संसार’ लेखिएको त्यो ठुलो ढोका खोले। ढोकाभित्र कुनै आगोको कुण्ड थिएन, न त कुनै स्वर्गको बगैँचा नै थियो। त्यहाँ त केवल एउटा अनन्त, सुनसान र नीरस शून्यता मात्र थियो।

पालेले सुबोधलाई भित्र धकेल्दै अन्तिम चोटिलो प्रहार गरे, “यहाँ न त कुनै सजाय छ, न त कुनै पुरस्कार, सुबोध! मरेपछिको संसार भनेको केवल एउटा ऐना हो। तिमी जीवनभर भित्रबाट जति रित्तो थियौ, यो संसार तिम्रा लागि त्यति नै अनन्त र भयानक रित्तो हुनेछ। तिम्रो नर्क अरू केही होइन, तिमी आफैँले बनाएको यो महाशून्यता हो। भोग अब आफ्नै खालीपन!”

ढोका बन्द भयो। सुबोध त्यो अनन्त शून्यतामा आफ्नै रित्तोपनको चीत्कृत रोदनसँगै बिलाए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *