लघुकथा : लज्जाबोध

प्रकाशचन्द्र खतिवडा
९ जेठ २०८३ ६:३८

“कृष्चला, परीक्षाको तयारी कस्तो चल्दै छ ?” उज्ज्वलले जिज्ञासा राख्यो।

“सामान्य ! कार्यमूलक अनुसन्धान लेखनले टाउकै खायो,” कृष्चलाले जवाफ फर्काइन्।

कृष्चला र उज्ज्वल बी.एड. सकाएर मा.वि. सामाजिक विषयको परीक्षा दिन तयारी गरिरहेका छन्। निजामती क्षेत्रमा रुचि नदेखाई शिक्षण क्षेत्रमा प्रवेश गर्न लालायित छन् उनीहरू। कृष्चला र उज्ज्वल कलेज टपर विद्यार्थी हुन्। छात्रवृत्तिको कोटा हात पार्न सफल कृष्चला र उज्ज्वल मेधावी विद्यार्थी हुन्।

घरायसी आर्थिक अवस्था कमजोर भएका कारण उनीहरूले मास्टर्सको अध्ययन केही वर्षका लागि थाती राखेका छन् । जागिर गर्दै मास्टर्स गर्ने योजनामा छन् उनीहरू।

कृष्चला र उज्ज्वलले विदेश जाने सपना देखेनन्। स्वदेशमै पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्ने गरी उनीहरूले परीक्षाको तयारीलाई तीव्रता दिएका छन्। कक्षा बाह्र सकिनेबित्तिकै ऋणधन गरेर विदेश अध्ययन गर्न जाने प्रचलनविपरीत उनीहरूले स्वदेशमै अध्ययन गरी राम्रो नतिजा हात पार्न सफल भए।

आयोगले नतिजा प्रकाशन गर्‍यो। खुलातर्फ एक नम्बरमा उज्ज्वल र महिलातर्फ एक नम्बरमा कृष्चलाको नाम सिफारिस भयो । उनीहरू दुर्गमको पीडा बुझ्न चाहन्थे, त्यसैले उनीहरूले सोलुखुम्बु रोजे। सोलुका रैथाने उम्मेदवारहरू भने मोरङ, सुनसरी र झापा रोजिरहेका थिए। उनीहरू आफ्नो मातृत्वप्रति घात गरिरहेका थिए।

कृष्चला र उज्ज्वलले सोलुको योग्यताक्रमको पुछारमा सिफारिस भएका उम्मेदवारहरूले समेत सुगम जिल्ला रोज्न तँछाडमछाड गरिरहेको देखेर लज्जाबोधले शिर निहुराए।

सुन्दरहरैँचा-०६, दुलारी, मोरङ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *