छन्द कविता : मूल्य महिमा
बास्नाको बहुमूल्य मापन हुने-श्रीखण्ड हो चन्दन।
उस्तै वृक्ष छ मूल्यहीन किन हो? मात्रै भयो इन्धन।।
उस्तै इन्द्रीय छन् शरीर छ उहीँ-श्रीराम छन् पूजित।
उस्तै रावण छन् परन्तु किन हो? संसारको निन्दित ।।
।।१।।
पानी हो गुणले पवित्र रहँदा -बन्दो छ गंगाजल।
पानी हो अपवित्र हुन्छ कसरी – नाली बगेको भल।।
भित्रैबाट मिठास पस्कन सके- पायो भयो आदर।
भित्रैबाट गन्हाउने यदि भए- ऊ देखि को डर्छ र ?।।
।।२।।
कालो काक भविष्य दर्शन दियो- हो काक भाषा भने।
सेतो हाँस परन्तु बोल्दछ मिठो- सेतो भयो के हुने?
आँखा देख्दछ श्वानले हरिणले- देखेर के हुन्छ र ?
कौवा लेख्दछ पातमा रुख बसी -लेखेर के हुन्छ र?
।।३।।
हुन्छन् कालजयी विशिष्ट रचना- जित्ने छ जे ले मन।
तालीमात्र र वाह-वाह कतिले -मान्छन् ठूलो आर्जन।
लाखौं पाठक छन् युगौं-युग रह्यो- गीता छ उस्तै तर।
माया प्रेम कहाँ गए कति भए- देला र को उत्तर?
।।४।।
खोज्छन् सागरभित्र मानवहरू- छन् रत्न गर्भान्तर।
खोज्छन् पर्वतमा शिलाजित भए- फोर्छन ठुला पत्थर।
हामीभित्र छ साधना यदि भने- बाँच्ने छ कल्पान्तर।
खाली दन्त बझान मात्र छ भने- गर्ला र को आदर?।।
।।५।।
स्रष्टा-वरिष्ठ ज्योतिष एवम् महाकाव्यकार हुन्।















Facebook Comment