संसद्‌मा रास्वपा र कांग्रेस सांसदबीच घम्साघम्सी

डिसी नेपाल
१२ जेठ २०८३ १७:२०

काठमाडौं। संसद् बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूबीच तीव्र भनाभन र धकेलाधकेलको स्थिति सिर्जना भएको छ।

रास्वपा सांसद जगदीश खरेलले विपक्षी दलहरूको अवरोधलाई ‘तमासा’ को संज्ञा दिएपछि संसद् भवनभित्र तनाव उत्पन्न भएको हो।

पर्यटनसम्बन्धी विधेयकमाथिको छलफलका लागि रोस्ट्रममा पुगेका सांसद खरेलले विपक्षी दलहरूले दशकौँदेखि संसद्‌मा तमासा देखाउँदै आएको आरोप लगाए।

पूर्वसञ्चारकर्मीसमेत रहेका खरेलले विपक्षीको विचारलाई पूर्णतः बेवास्ता गर्दै आक्रामक रूपमा सरकारले ल्याएका ८ वटा अध्यादेशको बचाउ गरेका थिए। उनले विपक्षीको आवाज नै दबाउने शैलीमा अभिव्यक्ति दिएपछि संसद्को माहोल एकाएक तातिएको थियो।

सांसद खरेलले प्रतिपक्षले प्रधानमन्त्री खोज्ने बहानामा संसद् अवरुद्ध गरेर नाटक मञ्चन गरिरहेको बताएलगत्तै नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरूङ आक्रोशित बनेका थिए। उनी आफ्नो आसनबाट उठेर रोस्ट्रममा रहेका खरेलतर्फ औँला तेर्स्याउँदै उत्तेजक शैलीमा अगाडि बढेका थिए।

सांसद केरूङ नियन्त्रणबाहिर जान थालेपछि कांग्रेसकी प्रमुख सचेतक बासना थापाले उनलाई रोक्नुपरेको थियो। थापाले तत्कालै अघि बढेर आक्रोशित केरूङलाई सम्हाल्दै पुनः आसनतर्फ फर्काएकी थिइन्।

विपक्षको चर्को विरोधका बावजुद सांसद खरेलले आफ्नो आक्रामक सम्बोधनलाई निरन्तरता दिएका थिए। उनले भने, “अहिले थाहा भयो, सरकारलाई आठवटा अध्यादेश किन आवश्यक परेको रहेछ। तपाईंहरूले आधा शताब्दीदेखि अल्झिएको विधेयकको हलोलाई अब यसरी अड्काइराख्न मिल्दैन।”

खरेलको यस्तो प्रस्तुतिले विपक्षी बेन्चका सबै सांसदहरूलाई थप चिढ्याएको थियो। संसद्‌भित्र सत्तापक्ष र प्रतिपक्षबीच तनाव उत्कर्षमा पुगेर स्थिति नियन्त्रणबाहिर जाने देखेपछि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *