संसद्का दुवै सदनको बैठक बस्दै: आर्थिक सर्वेक्षण र विभिन्न विधेयकहरू टेबल गरिने

डिसी नेपाल
१३ जेठ २०८३ ६:४२

काठमाडौं। संघीय संसद्का दुवै सदनको बैठक आज मंगलबार छुट्टाछुट्टै समयमा बस्दैछ।

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने तय भएको हो। आज बस्ने दुवै सदनको बैठकमा महत्त्वपूर्ण प्रस्ताव र प्रतिवेदनहरू पेस गर्ने सम्भावित कार्यसूची तयार गरिएको छ।

प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिनेछ।

यसैगरी आजको विशेष कार्यसूची अन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण बैठकमा पेस गर्नेछन्। बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रियसभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची समेत रहेको छ।

यता दिउँसो बस्ने राष्ट्रियसभाको बैठकमा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम रहेको छ।

त्यसका साथै अर्थमन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठक समक्ष प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *