विश्व स्वास्थ्य सभामा ऐतिहासिक उपलब्धि: उपाध्यक्षमा निर्वाचित मन्त्री निशा मेहता स्वदेश फिर्ता
काठमाडौं। स्विट्जरल्यान्डको जेनेभामा आयोजित ७९औँ विश्व स्वास्थ्य सभामा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै स्वास्थ्य मन्त्री निशा मेहता आज स्वदेश फर्किएकी छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी मन्त्री मेहतालाई स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीहरूले भव्य स्वागत गरेका थिए।
जेनेभामा मे १८ देखि २३, २०२६ सम्म सञ्चालन भएको यस वर्षको महासभा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको बलियो उपस्थिति र स्वास्थ्य कूटनीतिको हिसाबले निकै उपलब्धिमूलक बनेको छ। नयाँ सरकार गठन भएपश्चात् अन्तर्राष्ट्रिय स्तरमा मन्त्री मेहताको यो पहिलो उच्चस्तरीय प्रतिनिधित्व हो।
यस पटकको महासभा नेपालका लागि निकै गौरवपूर्ण रह्यो, जहाँ स्वास्थ्य मन्त्री निशा मेहता ७९औँ विश्व स्वास्थ्य सभाको उपाध्यक्ष रूपमा निर्वाचित भइन्। यो नेपालको स्वास्थ्य कूटनीति र अन्तर्राष्ट्रिय मञ्चमा देशको बढ्दो साखका लागि एउटा ठुलो सम्मान र उपलब्धि हो।
महासभालाई सम्बोधन गर्दै मन्त्री मेहताले विश्व समुदायमाझ नेपालको स्वास्थ्य क्षेत्रका प्राथमिकता र स्पष्ट धारणाहरू राखेकी थिइन्।
उनले महामारीको पूर्वतयारी, विश्वव्यापी स्वास्थ्य संरचनामा सबैको न्यायोचित पहुँच र स्वास्थ्यमा समानताको विषयमा नेपालको बलियो मत प्रस्तुत गरिन्।
यसका साथै जलवायु परिवर्तनका कारण नेपालजस्ता पर्वतीय र विकासशील देशहरूको जनस्वास्थ्यमा परिरहेको गम्भीर असरप्रति उनले विश्व समुदायको ध्यानाकर्षण गराएकी थिइन्।
सम्मेलनका क्रममा मन्त्री मेहताले विश्व स्वास्थ्य संगठनका उच्च अधिकारीहरू र विभिन्न सदस्य राष्ट्रका स्वास्थ्य मन्त्रीहरूसँग महत्त्वपूर्ण द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता समेत गरिन्। उक्त छलफलहरूमा नेपालको स्वास्थ्य प्रणालीको सुदृढीकरण र प्राविधिक सहयोग आदानप्रदानका विषयमा महत्त्वपूर्ण सहमतिहरू भएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यस भ्रमणलाई नेपालको स्वास्थ्य क्षेत्रको अन्तर्राष्ट्रिय सहकार्यमा एउटा महत्त्वपूर्ण फड्कोका रूपमा लिएको छ।
स्वदेश फर्कने क्रममा मन्त्री मेहताले विश्व स्वास्थ्य सभामा पारित भएका नीतिहरू र नेपालले गरेका प्रतिबद्धताहरूलाई अब राष्ट्रिय स्वास्थ्य नीतिसँग जोडेर दृढताका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेकी छन्।







डिसी नेपाल







Facebook Comment