वर्तमानको गहिराइ र भविष्यको भ्रम: जीवन जिउने वास्तविक कला

शंकरप्रसाद रिजाल
१६ जेठ २०८३ ७:५२

भविष्यको चिन्ता र मनको संघर्षहरेक मानव जीवनको एउटा अनौठो चरित्र हुन्छ-ऊ आफूसँग भएको वर्तमान क्षणभन्दा नआएको भविष्यको जीवनलाई सुन्दर र साकार रूप दिन बढी तत्पर रहन्छ।

मानिस जतिबेला आफ्नो भविष्यको सुरक्षा र परिकल्पनामा तल्लीन हुन थाल्छ, त्यतिबेला उसको अन्तस्करणमा एउटा अन्तहीन संघर्षको जन्म हुन्छ। वास्तवमा यो संघर्ष जीवनको त्यस्तो पिडा हो, जसले मानवीय मनलाई कहिल्यै पनि शान्त र स्थिर रहन दिँदैन।

अर्कोतर्फ, एउटा शान्त मन नै जीवन निर्माणको सबैभन्दा बलियो र सुन्दर पहेलु हो, जसले मानिसलाई बाह्य संसारको कोलाहलबाट मुक्त गराएर जतिबेला पनि वर्तमानकै समयमा फर्काउने निरन्तर कोसिस गरिरहन्छ।

चिन्ता र आनन्दको केन्द्र: भविष्य भर्सेज वर्तमानसरल शब्दमा भन्ने हो भने, भविष्य भनेको केवल चिन्ताको पुलिन्दा हो भने वर्तमान भनेको विशुद्ध आनन्दको स्रोत हो। जब हामी भविष्यको चिन्तामा डुब्छौं, तब हाम्रो वर्तमानको आनन्द स्वतः हराएर जान्छ।

भविष्यमुखी सोचले संसारका भौतिक र काल्पनिक हरेक कुरालाई आफ्नो मुठ्ठीमा समेट्न खोज्छ, तर वर्तमानको सचेत सोचले जीवनका लागि वास्तवमै जे आवश्यक छ, त्यसलाई मात्र ग्रहण गर्दछ।

जबसम्म मानिसले आफ्ना इच्छाहरूलाई निरन्तर बढाउँदै र समेट्दै लैजाने तृष्णा राख्छ, तबसम्म ती भौतिक चिज र वस्तुहरूको मानसिक भारले उसलाई आनन्दित होइन, बल्कि अझ बढी बोझिलो र थकित बनाउँदै लैजान्छ।

भविष्य भनेको एउटा यस्तो अतृप्त खोजको सुरुवात हो, जहाँ प्राप्त हुन नसकेका काल्पनिक चिजहरूप्रति मानिसले सधैँ आफूलाई संघर्षको मैदानमा उतार्छ। यही खोजको चक्करमा मानिसको अगाडि संघर्षको एउटा ठुलो पहाड उभिन पुग्छ र ऊ सधैं अज्ञात डर अनि चिन्तामा बाँचिरहन बाध्य हुन्छ।

अध्याँरोबाट उज्यालोको रूपान्तरण र भित्री जागरणजब मानिसले बितेको भूतकाल र आउने भविष्यकाल दुवैलाई आफूभन्दा टाढा राखेर पूर्ण रूपमा वर्तमानको शरणमा आउँछ, तब जीवनमा एउटा ठुलो परिवर्तन देखिन्छ।

यस्तो अवस्थामा मानिस बाह्य परिस्थितिप्रति उत्तेजित भएर ‘प्रतिक्रिया’  जनाउन छाड्छ र जीवनको वास्तविक ‘प्रक्रिया’  मा समाहित हुन पुग्छ। यहीँबाट मानिसको जीवन अँध्यारोबाट उज्यालोको मार्गमा रूपान्तरित हुन थाल्छ र उसले जीवन जिउने वास्तविक कलाको अमूल्य पाठ सिक्दै जान्छ।

बाहिरका अनगिन्ती कल्पना र इच्छाहरूको पछाडि दौडनुभन्दा टाढा रहेर जब मानिस आफ्नो भित्री अस्तित्वमा लुकेको सूक्ष्म आनन्दको खोजीमा लाग्छ, तब उसले बुझ्दछ कि वास्तविक सुख त बाहिर होइन, आफ्नै भित्र पो रहेछ! त्यसैले वर्तमानमा जे छ, जस्तो छ, त्यसमै बाँच्न सिक्नुपर्छ।

जीवनको सरलता र सहजता त्यहीँबाट प्रष्फुटित हुन थाल्छ, मानसिक बोझहरू क्रमशः घट्दै जान्छन् र आन्तरिक आनन्दको ढोका खुल्न थाल्छ। जब मानिसभित्र प्रतिक्रियात्मक बानी घट्दै गएर पूर्ण जागरूकता वा होसको प्रवेश हुन्छ, तब उसले वर्तमानलाई नै आफ्नो जीवनको सर्वोच्च प्राथमिकता दिन थाल्छ। संसारका नश्वर कुराहरूलाई समातिरख्ने वा आसक्ति राख्ने पुरानो आदतलाई तिरस्कार गर्दै मानिस साँचो खुसी र आत्मिक आनन्दमा रम्न थाल्दछ।

समयको अन्तिम सत्य र अमर प्रेमवास्तविकतामा हेर्ने हो भने, भूतकाल र भविष्यकालको आफ्नो स्वतन्त्र अस्तित्व नै हुँदैन; यी त वर्तमान समयकै अदलबदल भइरहने रूपहरू मात्र हुन्।

समयको महासागरको अगाडि “न भूतो न भविष्य” अर्थात् न त हिजोको कुनै अस्तित्व छ, न त भोलिको नै कुनै ग्यारेन्टी छ; संसारमा जे छ, त्यो सधैँ वर्तमान मात्रै छ।

भूत र भविष्य त केवल मानिसले आफ्नो मानसिक सहजताका लागि गरेको समयको एउटा काल्पनिक वर्गीकरण मात्र हो। जब मानिसको भित्री चेतना वा जागरण खुल्छ, तब त्यहाँ न त भविष्यको कुनै कल्पना हुन्छ, न त भूतकालको कुनै सम्झना वा पश्चात्ताप।

त्यो जागा भएको चेतना सधैँ वर्तमानको पवित्र क्षणमा मात्र बाँचिरहेको हुन्छ। आफूले आफैलाई वर्तमानमा ल्याउने निरन्तरको कोसिसले मानिसको आन्तरिक गहिराइ अझ प्रगाढ बन्दै जान्छ।

यसैले, मानिसले सधैँ आफूले आफैलाई प्रेम गर्न सिक्नुपर्छ, किनकि त्यस्तो आत्मप्रेम सधैँ वर्तमानमा बाँच्छ र सधैँका लागि अमर रहन्छ। साँचो प्रेम सधैँ वर्तमानमा मात्र जीवित रहन्छ। यदि कुनै प्रेम मर्छ र भूतकालको सम्झनामा मात्र सीमित हुन पुग्छ भने बुझ्नुपर्छ कि त्यो कहिल्यै साँचो प्रेम थिएकै थिएन।

त्यसैगरी, यदि कुनै प्रेमले सधैँ भविष्यको मात्र प्रतीक्षा गरिरहन्छ भने त्यो पनि वास्तविक प्रेम हुन सक्दैन। वर्तमान समयलाई साक्षी राखेर, यसै क्षणमा समर्पित भई जसले प्रेम गर्छ वा कुनै पनि सत्कर्म गर्छ, उसका ती सबै कामहरू सफल र परम आनन्दमय हुन पुग्दछन्।

मनको रिक्तता, समर्पण र प्रकृतिबाट शिक्षामानिसले आफ्नो मनलाई सकेसम्म खाली र विचाररहित राख्न सक्नुपर्छ, ताकि जीवनमा कुनै नयाँ सत्य वा ऊर्जा प्राप्त हुँदा हामीले त्यसलाई सहजै आत्मसात् र ग्रहण गर्न सकौं।

तर जब मानिस भूत र भविष्यका विचारहरूमा अल्झिएर आफ्नो चेतनालाई रोक्ने काम गर्दछ, तब उसले वर्तमानको दिव्य अनुभव कहिल्यै पनि प्राप्त गर्न सक्दैन। वर्तमानको बेवास्ता गरेर जो मानिस चौबीसै घण्टा हिजो र भोलिकै चिन्तामा मग्न भइरहन्छ, उ वास्तवमा यो संसारमा जिउँदै मरेसरह बाँचिरहेको हुन्छ।

हामीले सबैलाई वर्तमानकै क्षणमा प्रेम गर्ने कोसिस गर्नुपर्छ। साँचो प्रेममा कुनै सर्त, कुनै बदला वा कुनै प्रतिक्रिया हुँदैन; त्यहाँ त केवल विशुद्ध प्रेम मात्र बाँकी रहन्छ। यो निश्छल प्रेम नै वर्तमानको असली आनन्द हो, जहाँ सुख, दुःख, चिन्ता वा सुर्ता जस्ता द्वन्द्वहरूका लागि कुनै स्थान हुँदैन।

त्यहाँ जे हुन्छ, सब स्वीकार्यता र पूर्ण समर्पणमा आधारित हुन्छ। जसले जीवनलाई पूर्ण रूपमा स्वीकार र समर्पण गर्न सक्छ, त्यो व्यक्तिले संसारलाई सधैँ दिने (बाँड्ने) काम मात्र गर्दछ, लागूपदार्थ वा स्वार्थ जस्तो लिने भावना उसको मनमा अलिकति पनि रहँदैन।

यसको सबैभन्दा ठूलो उदाहरण प्रकृतिमा रहेका रुखहरू हुन्। एउटा रुखको छहारीले आफ्नो मुनि आउने सबैलाई समान रूपमा शितलता र आनन्द प्रदान गर्दछ। उसले आफुकहाँ ओत लाग्न आउने जीव मानिस होस् या जनावर, अथवा त्यो व्यक्ति दुष्ट होस् या सज्जन, कसैप्रति पनि कुनै भेदभाव राख्दैन।

वर्तमानको आनन्द पनि ठ्याक्कै त्यस्तै एउटा विशाल महासागर जस्तै असीम र उदार हुन्छ। तर जब मानिस भूत र भविष्यको संकुचित आसक्तिमा अल्झिन्छ, उ सधैं तुरुतुरु बग्ने र तुरुन्तै सुक्ने एउटा सानो खोल्सो जस्तै बन्न पुग्छ, जो सधैँ असन्तुष्टि प्रकट गर्दै आफ्नो वास्तविक अस्तित्व नै गुमाएर बाँच्न बाध्य हुन्छ।

वर्तमान र भविष्यको मुख्य फरक नै यही हो। वर्तमान: ईश्वरको ताजापन र जीवनको सारवर्तमानको चेतनामा जिउने मानिसहरू बाहिर धेरै बोल्दैनन्, उनीहरू शान्त र कम बोल्ने स्वभावका हुन्छन्।

उनीहरूका धेरैजसो भावहरू शब्दभन्दा बढी उनीहरूको मौनता र सुक्ष्म इशाराहरूबाटै प्रष्फुटित भइरहेका हुन्छन्। भविष्यको काल्पनिक संसारमा बाँच्ने मानिसहरूको तुलनामा वर्तमानमा बाँच्नेहरूको इच्छा र तृष्णाहरू अत्यन्तै कम हुन्छन्, जसका कारण उनीहरू सधैं आफूलाई मानसिक रूपमा हल्का बनाउँदै जीवनलाई परम आनन्दमा बिताउने गर्दछन्।

वास्तवमा वर्तमान नै साक्षात् परमात्मा वा ईश्वर हो। तर विडम्बना, हामी भने जतिबेला पनि कि त बितिसकेको हिजोको कुरा सोचेर बस्छौँ कि त नआएको भोलिको तर्कना र कल्पनाको भारी बोकेर हिँड्छौं।

भूतकाल र भविष्यकालको समयले मानिसको चेतनालाई कहिल्यै पनि गतिशील वा जीवन्त बनाउन सक्दैन, किनकि ती मृत र अपरिवर्तनीय छन्। जीवनमा जे-जति परिवर्तन सम्भव छ, त्यो केवल वर्तमान समयमा मात्र सम्भव छ।

वर्तमान एउटा यस्तो ईश्वरीय रूप हो, जहाँ प्रतिपल नयाँ परिवर्तन भइरहन्छ। यही निरन्तरको परिवर्तनमा एउटा अनुपम ताजापन (Freshness) लुकेको हुन्छ, जसले मानिसलाई सधैं ऊर्जावान् बनाउँछ र आत्मिक आनन्दको शिखरमा पुऱ्याउँछ।

जब मानिस वर्तमानकै क्षणमा एकाकार भएर आफ्नो जीवन बिताउन थाल्छ, उ वर्तमान समय जस्तै प्रतिपल रूपान्तरित हुँदै समष्टिगत अस्तित्वमा सधैँका लागि जागृत रहन्छ। निष्कर्षमा भन्नुपर्दा, वास्तविक जीवन भनेको केवल वर्तमान मात्र हो, अतीत (भूत) र भविष्य दुवै केही पनि होइनन्।

अतीत भनेको बितेर गइसकेको समयको मृत अवशेष मात्र हो भने भविष्य भनेको आउने समयको एउटा अधुरो र काल्पनिक आशा मात्र हो, जसबाट मानिसले आफ्नो जीवनका लागि वास्तविक सत्य कहिल्यै सिक्न सक्दैन।

हिन्दीमा एउटा चर्चित उखान नै छ- “जो बिता ओ मरा उसका अस्तित्व नही होगा और भविष्य जो आनेवाला है उसका कोहि ठीगान या भरोशा नही होता है। हो भी सकता है या नहि भी”।

यसलाई अझ व्यवहारिक रूपमा हेर्ने हो भने, आफ्नो अगाडि ठ्याक्कै भेट भइरहेको मानिससँग जीवन्त कुराकानी गर्नुको साटो, हिजो भेट भइसकेको वा भोलि भेट हुने काल्पनिक मानिसको बारेमा सोचिरहनु केवल आफ्नो अमूल्य समयप्रतिको चरम बेवास्ता मात्र हो।

वर्तमान समयप्रतिको यस्तै बेवास्ता र हेलचेक्र्याइँले मानिसलाई भित्रभित्रै सधैं अधुरो बनाउँछ र अन्ततः उसको सम्पूर्ण जीवन नै अधुरो र अतृप्त रहन पुग्दछ। त्यसैले यो शाश्वत सत्यलाई आत्मसात् गरौं कि- वर्तमान नै साक्षात् ईश्वर हो, भूतकाल केवल एउटा मृत ‘भुत’ हो र भविष्य एउटा अज्ञात अन्धकार मात्र हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *