प्रतिप्रनिधिसभा बैठक : वर्षा, वन्यजन्तुको सास्ती र स्वास्थ्य क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण
काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मुलुकको समसामयिक जनजीवन, बेमौसमी वर्षाका कारण उत्पन्न समस्या र विभिन्न जनसरोकारका सवालहरूमाथि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
बैठकमा स्वास्थ्य क्षेत्रको संवेदनशीलतामाथि बोल्दै सांसद साजिदा खातुन सिद्धिकीले मिर्गौला रोगीहरूका लागि अत्यन्तै आवश्यक पर्ने ‘डायलाइसिस’ मेसिन देशका सबै अस्पतालहरूमा सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गरिन्।
यस्तै, दुर्गम क्षेत्रको पीडा दर्साउँदै सांसद खड्गबहादुर शाहीले मुगुमा यार्सागुम्बा संकलनका क्रममा यही जेठ १० गते टाँकेखोलामा लेक लागेर पेमा लामाको दुःखद निधन भएको र भौगोलिक विकटताका कारण अहिलेसम्म शव उठाउन नसकिएकाले तत्काल व्यवस्थापन गर्न सरकारको ध्यान खिचिन्।
बैठकमा वन्यजन्तुको आक्रमण र त्यसबाट पुगेको क्षतिबारे पनि सांसदहरूले आवाज उठाएका छन्।
सांसद जनकसिंह धामीले कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रमा वीरेन्द्र ठगुन्ना र उनको परिवार बाघको आक्रमणबाट घाइते भएको घटना संसद्लाई अवगत गराउँदै वन्यजन्तुको आक्रमणबाट हुने यस किसिमको मानवीय क्षति नियन्त्रणका लागि दीर्घकालीन कदम चाल्न माग गरे।
यता सहरी व्यवस्थापनका विषयमा बोल्दै सांसद अनुष्का श्रेष्ठले पछिल्लो समय सडकको ट्राफिक व्यवस्थापनमा केही सुधार देखिए पनि यसलाई अझ व्यवस्थित र नागरिकमैत्री बनाउन अनुरोध गरिन्।
प्राकृतिक विपत्ति र कृषकका समस्याका सवालमा सांसद हरिमोहन भण्डारीले बैतडीमा असिनापानीका कारण कृषिबालीमा ठूलो क्षति पुगेको जानकारी दिँदै भीषण वर्षापछिको बाढी र पहिरोबाट हुन सक्ने सम्भावित मानवीय क्षति रोक्न जोखिमयुक्त बस्ती सार्ने वा पहिरो नियन्त्रण गर्ने विशेष कार्यक्रम ल्याउन आग्रह गरे।
यसैगरी, देशका विभिन्न भागमा बाँदरको आतंकबाट आजित भएका किसानहरूको पक्षमा बोल्दै सांसद श्रीराम न्यौपानेले देशभर बढिरहेको बाँदरको समस्या समाधान गर्न र पीडित किसानहरूलाई तत्काल राहत उपलब्ध गराउन माग गरे।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको समस्याका विषयमा सांसद निष्कल राईले कामको सिलसिलामा विदेशमा रहेका नेपालीहरूले थुप्रै दुःख व्यहोर्नुपरेको उल्लेख गर्दै हालै क्रोयसियामा सडक दुर्घटनामा परी निधन भएका नेपालीको शव स्वदेश ल्याउन ठूलो समस्या भइरहेकाले त्यसतर्फ तत्काल कूटनीतिक पहल गर्न सरकारसँग अनुरोध गरे।
त्यस्तै, कर्णाली क्षेत्रको समस्या राख्दै सांसद रमेशकुमार सापकोटाले हालैको हावाहुरीका कारण कर्णालीका विभिन्न जिल्लाहरूमा बिजुली अवरुद्ध भई नागरिकहरू अन्धकारमा बस्न बाध्य भएको जानकारी गराए। बैठकको अन्त्यमा सांसद ऐनबहादुर महरले सिंहदरबारभित्र निर्माणाधीन नयाँ संसद् भवनलाई हतारमा भन्दा पनि प्राविधिक रूपमा पूर्ण, सही र व्यवस्थित ढंगबाट मात्र सञ्चालनमा ल्याउनुपर्ने धारणा राखे।







डिसी नेपाल







Facebook Comment