डीडीसी कार्यालयमा सीआईबीको आकस्मिक छापा, महत्त्वपूर्ण कागजात नियन्त्रणमा
काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को केन्द्रीय कार्यालयमा आकस्मिक छापा मारेको छ।
संस्थानभित्र ठूलो आर्थिक अनियमितता र वित्तीय कैफियत भएको विशेष सूचनाका आधारमा सीआईबीको टोलीले बुधबार बिहानै डीडीसी कार्यालयमा पुगेर अपरेसन चलाएको हो।
ब्युरोका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीले डीडीसीसँग सम्बन्धित केही गम्भीर र संवेदनशील सूचना प्राप्त भएपछि प्रहरी टोलीले अनुसन्धान प्रक्रिया अघि बढाएको पुष्टि गरेका छन्। यद्यपि, अनुसन्धान अहिल्यै प्रारम्भिक चरणमा रहेकाले एआईजी केसीले घटनाको थप विस्तृत विवरण र गहिराइबारे अहिल्यै धेरै कुरा खुलाउन नमिल्ने बताए।
प्रहरी स्रोतका अनुसार छापा मार्ने क्रममा सीआईबीको टोलीले डीडीसीको लामो समयदेखिको आर्थिक कारोबार, खरिद प्रक्रिया र प्रशासनिक निर्णयहरूसँग सम्बन्धित महत्त्वपूर्ण कागजातहरू आफ्नो नियन्त्रणमा लिएको छ।
संस्थानभित्र लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद, गुटबन्दी र वित्तीय पारदर्शिताबारे तीव्र गुनासो बढेपछि सीआईबीले यस विषयमा सुक्ष्म र गम्भीर अध्ययन सुरु गरेको बुझिएको छ। नियन्त्रणमा लिइएका कागजातहरूको अध्ययनपछि मात्रै वित्तीय अनियमितताको वास्तविक आकार र त्यसमा संलग्न पदाधिकारीहरूको पहिचान हुने प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment