लगानी नउठ्दा मकै किसान चिन्तित

डिसी नेपाल
१४ जेठ २०८३ १९:५२

रौतहट। बिहानीको मिर्मिरेदेखि सन्ध्याकालसम्म खेतबारीमै बित्छ अचेल रौतहटको उत्तरी भेगका किसानको दैनिकी। यतिबेला चन्द्रपुर, वृन्दावन, गुजरा र फतुवा विजयपुरका खेतहरूमा मकै भित्र्याउन तछाडमछाड छ। तर, यो चटारोमा खुसीको रौनकता छैन। केवल एउटा अदृश्य डर र मनभरि पीडा लुकेको छ।

वृन्दावन नगरपालिका–१ बलरीका किसान लखिन्द्र पटेल दिनहुँ आठ जना मजदुर लिएर खेतमा खटिएका छन्। उनको मनमा मकै भित्र्याउने उत्साहभन्दा बढी आकाश(बादल) फेरिएर पानीपर्ने कि भन्ने डर छ।

‘मकै पाकिसक्यो, फेरि पानी परे त भोकै परिन्छ,’ लखिन्द्र गहभरि आँसु पार्दै भन्छन्। फतुवा विजयपुर–२ का श्याम कुमार साहको पीडा अझ फरक छ। केही दिनअघि मात्रै उनले दुःख गरेर सुकाएको मकै पानीले भिजाएर नष्ट पारिदियो। उनी अहिले पनि टोलाइरहेका छन्।

विगतका वर्षहरूमा दश कठ्ठा खेतबाट झन्डै ४० क्विन्टल मकै उत्पादन हुन्थ्यो। तर, यो वर्ष फागुन र चैतको असिनापानी अनि हुरीबतासले किसानको सपना सबै सोहोरेर लग्यो। अहिले उत्पादन घटेर जम्मा २९ क्विन्टलमा सीमित भएको छ। मिहिनेत अनुसारको फल नपाउँदा किसानका आँखाहरू ओसिला बनेका छन्।

किसानको मन झन् त्यतिबेला भक्कानिन्छ, जब मल, बीउ, इन्धन र मजदुरीको मूल्य आकाशिएको बेला उनीहरूको रगत–पसिनाको मूल्य भने कौडीको भाउमा झर्छ। मकैको भाउ गत वर्षको प्रतिक्विन्टल रु. ३,३०० थियो। तर यस वर्षको मूल्य प्रतिक्विन्टल रु.२,६०० देखि रु. २,८०० सम्म पुगेको छ।

‘इन्धनको भाउ बढ्यो भनेर सबैले पैसा बढाए, तर हामीले पसिना बगाएर फलाएको मकैको मूल्य चाहिँ घट्यो,’ चन्द्रपुरका किसान बिरेन्द्र बछाडले बिलौना गरे। आफ्नो लगानी र बुढेसकालको साहारा समेत नउठ्ने भएपछि रौतहटका यी किसानहरू अहिले खेतको आलीमा बसेर आफ्नो भाग्यलाई धिक्कारिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *