गणतन्त्र अभ्यासको १८ वर्ष पूरा, सैनिक मञ्चमा विशेष समारोह, राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं। नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको प्रतिफलस्वरूप स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुखद् स्मरणमा आज देशभर १९औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ।
जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको हो।
तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र सङ्घर्षको जगमा देशले वंशीयतन्त्रलाई विस्थापित गरी गणतन्त्रको अभ्यास गरेको १८ वर्ष पूरा भएको छ।
२०६५ जेठ १५ गते २४० वर्ष लामो निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै नागरिक सर्वोच्चता प्राप्त भएको यो दिन नेपाली जनताको स्वतन्त्रता र सामाजिक न्यायको उत्सव पनि हो।
टुँडिखेलमा विशेष समारोह: राष्ट्रपतिले सम्बोधन गर्ने
१९औँ गणतन्त्र दिवसका अवसरमा आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन्। गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत राज्यका विशिष्ट महानुभावहरू सहभागी हुँदैछन्।
उक्त समारोहलाई राष्ट्रपति पौडेलले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
समारोहमा परिवर्तनका लागि आफ्नो प्राण आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र जेलनेल भोगेका अग्रजहरूको योगदानको स्मरण गरिनेछ।
जनअपेक्षा र समृद्धिको चुनौती
संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित गरे पनि आम नागरिकको जीवनस्तरमा सुधार ल्याउनु अहिलेको मुख्य कार्यभार बनेको छ।
शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात र सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्य गर्नु तथा विश्वमञ्चमा नेपालको प्रतिष्ठा उँचो बनाउनु यो व्यवस्थाको पहिलो लक्ष्य हो।
जनअपेक्षा र जनभावनाअनुरूप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले यसलाई केवल राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीका रूपमा आत्मसाथ गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
राजनीतिक दलका नेताहरूले आजको दिनले नागरिकलाई समुन्नत र अधिकारसम्पन्न बनाउने अभियानमा जुट्न थप प्रतिबद्धता जगाउने विश्वास व्यक्त गरेका छन्।







डिसी नेपाल







Facebook Comment