मौसम पूर्वानुमान : देशैभर बदली, राति र दिउँसो कस्तो रहला वर्षा र हुरीको अवस्था?

डिसी नेपाल
१५ जेठ २०८३ ६:४२

काठमाडौं। हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव रहेकाले विभिन्न स्थानमा वर्षा, मेघगर्जन, चट्याङ र हुरी चल्ने सम्भावना देखिएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भू-भागहरूमा सामान्य बदली सँगै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। तराईका भू-भागमा भने अहिले आंशिक बदलीको अवस्था छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहने मौसमविद्हरूले जनाएका छन्। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य हिमाली तथा पहाडी भू-भागका केही स्थानहरूमा पानी पर्ने सम्भावना छ। यस्तै, मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षा हुन सक्नेछ।

उच्च हिमाली क्षेत्रमा भने हल्का हिमपातको सम्भावना रहेको छ। विशेष गरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भू-भागका केही स्थानमा तीव्र गतिको हुरी चल्ने सम्भावना छ।

आज राति पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान गरिएको छ। रातिको समयमा सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा मधेश र अन्य प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना कायमै रहनेछ।

देशका धेरैजसो तराई तथा पहाडी क्षेत्रमा वर्षासँगै हुरीबतासको जोखिम रहेकाले महाशाखाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *