माइतीघरमा सुकुम्बासी र नागरिक आन्दोलनको सिठ्ठी जुलुस: ‘डोजर होइन समाधान दे’
काठमाडौं। काठमाडौंको माइतीघर मण्डलामा विभिन्न नागरिक संगठनहरूको संयुक्त आयोजनामा बिहीबार एक विशेष विरोध प्रदर्शन सम्पन्न भएको छ।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल, वृहत नागरिक आन्दोलन र जेन-जेड मुभमेन्ट अलायन्सले ‘गणतन्त्र जिन्दावाद, GUN तन्त्र मुर्दावाद’ भन्ने प्रहारशिल्पी नाराका साथ संयुक्त रूपमा सडक प्रदर्शन गरेका हुन्।
प्रदर्शनलाई सिर्जनात्मक र सांकेतिक बनाउन आन्दोलनकारीहरूले माइतीघर सडकमा कविता वाचन, सडक नाटक, विरोध वक्तव्यका साथै सिठ्ठी जुलुससहित प्रदर्शन गरेका थिए।
सरकारका पछिल्ला कतिपय नीति र सुकुम्बासी बस्तीमाथिको प्रशासनिक बल प्रयोगको विरोधमा उनीहरूले सिठ्ठी बजाएर आक्रोश पोखेका थिए।
प्रदर्शनमा सहभागी अधिकारकर्मी तथा सुकुम्बासीहरूले जनसरोकारका मुद्दाहरूलाई बेवास्ता गरेको भन्दै सरकारविरुद्ध चर्को नाराबाजी समेत गरे। उनीहरूले ‘जनता मार्न पाइँदैन’, ‘यस्तो सरकार चाहिँदैन’, ‘घर खोस्ने शासक चाहिँदैन’ र ‘जनविरोधी निर्णय मान्दैनौं’ जस्ता प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
विशेष गरी विकल्पबिना सुकुम्बासी बस्तीहरू भत्काउने कार्यको कडा आलोचना गर्दै प्रदर्शनकारीहरूले ‘डोजर होइन समाधान दे, सुकुम्बासीलाई सम्मान दे’ भन्दै आफ्नो उचित व्यवस्थापन र आत्मसम्मानको रक्षाका लागि राज्यसँग माग गरेका छन्।
खेलबाडपूर्ण निर्णयहरू तत्काल नसच्चिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत मोर्चाका प्रतिनिधिहरूले दिएका छन्।













No ads found for this position


डिसी नेपाल
Facebook Comment