खुर्सानीको धुलो हतियार, हत्यादेखि कारागार विद्रोहसम्म: ६ वर्ष कैद तोकिएका ‘मोस्ट वान्टेड’ कार्की फेरि समातिए

डिसी नेपाल
१७ जेठ २०८३ ९:१६

काठमाडौं। काठमाडौँका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध डाँका चोरी तथा लुटपाटमा संलग्न रहँदै आएका कुख्यात अभियुक्त गणेश कार्कीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शनिबार बेलुका साढे ९ बजे जडिबुटी क्षेत्रबाट विशेष सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ गर्ने क्रममा अभियुक्त कार्कीले प्रहरी टोलीमाथि नै आक्रमण गरेपछि आत्मरक्षाका लागि प्रहरीले उनको बायाँ खुट्टामा गोली प्रहार गरेको थियो। हाल उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको  छ।

शनिबार मात्रै कार्की र इलाम घर भएका उनका सहयोगी विष्णु खत्रीले दिउँसो साढे १ बजे सुकेधारा क्षेत्रमा एक महिलालाई निशाना बनाएका थिए। उनीहरूले ती महिलाको अनुहारमा खुर्सानीको धुलो फ्याँकेर उनको साथमा रहेको सुनको सिक्री र मोबाइल लुटेर फरार भएका थिए।

घटनालगत्तै सक्रिय भएको प्रहरीले फरार मध्येका खत्रीलाई शनिबार दिउँसै पक्राउ गर्न सफल भएको थियो भने मुख्य योजनाकार कार्की जडिबुटीतर्फ लुकिछिपी बसेको अवस्थामा फेला परेका हुन्।

प्रहरी अनुसन्धानका अनुसार पक्राउ परेका कार्कीको पृष्ठभूमि निकै लामो र गम्भीर आपराधिक क्रियाकलापले भरिएको छ। वि.सं. २०६४ सालमै उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा अभद्र व्यवहार र बालाजुमा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा चलेको रेकर्ड छ। सोही समयमा बौद्धमै उमेश सिंह भन्ने व्यक्तिको हत्या गरेको अभियोगमा उनीमाथि कर्तव्य ज्यान मुद्दा प्रमाणित भई १० वर्षको जेल सजाय भुक्तान गरेका थिए।

लामो समय जेल बसेर निस्किए पनि उनको आपराधिक मानसिकतामा सुधार आएन। वि.सं. २०७८ सालमा जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा र सोही वर्ष गौशालामा डाँका चोरीको अर्को मुद्दामा उनी पुनः पक्राउ परे।

उक्त डाँका चोरीको कसुरमा अदालतले उनलाई ६ वर्षको कैद सजाय तोकेको थियो। तर, केन्द्रीय कारागारमा सजाय काटिरहेकै अवस्थामा भदौ २४ गते देशव्यापी रूपमा भएको आन्दोलन र कारागार विद्रोहको फाइदा उठाउँदै उनी जेल तोडेर फरार हुन सफल भएका थिए।

जेलबाट फरार भएपछि प्रहरीले उनलाई मोस्ट वान्टेड सूचीमा राखेर लामो समयदेखि खोजी गरिरहेको थियो। अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार करिब तीन महिनाअघि उनलाई कपन क्षेत्रमा घेरा हाली पक्राउ गर्न खोज्दा प्रहरीकै आँखामा खुर्सानीको धुलो फ्याँकेर उनी उम्किन सफल भएका थिए।

जेलबाट भागेको यस अवधिमा उनले काठमाडौँका विभिन्न स्थानमा आतङ्क नै मच्चाएका थिए। उनले पछिल्लो समय गौशालाको एक बिजुली पसलमा चोरी गरेका थिए भने गौशाला क्षेत्रमै वैदेशिक रोजगारीमा जाने सोझा व्यक्तिहरूलाई रोकेर नगद तथा मोबाइल लुटेका थिए।

त्यति मात्र नभई, पशुपति क्षेत्रमा आफूलाई ‘सादा पोसाकको प्रहरी’ भन्दै डर-त्रास देखाई विभिन्न व्यक्तिहरूलाई लुट्ने धन्दासमेत उनले चलाएका थिए। विशेष गरी उनले लागुऔषध दुर्व्यसनीहरूलाई सजिलै डर देखाउन सकिने ठानेर उनीहरूका मोबाइल र नगद लुट्ने मुख्य निशाना बनाउने गरेका थिए। अपराध गर्नका लागि सधैँ खुर्सानीको धुलोलाई हतियार बनाउने र कमजोर व्यक्तिहरूलाई लुट्ने कार्की अन्ततः प्रहरीको फन्दामा परेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *