छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ।
काठमाडौं महानगरपालिका-७ स्थित सडकमा बा.१ प ८१८ नम्बरको बस र बा.७१ प ९७४१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक पाँचथर याङवरक गाउँपालिका-६ घर भएका २२ वर्षीय सुशन योङहाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको ओम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका-८ बगुवास्थित सडकमा हेटौंडाबाट बगुवातर्फ जाँदै गरेको ना.६ ख ४०४२ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालक हेटौंडा उपमहानगरपालिका-३ बस्ने ३० वर्षीय दल बहादुर बर्तौलाको शनिबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ शानान्टारस्थित सडकमा बा.प्र.०३-००६ प ५५७६ नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-९ धर्मपथ बस्ने ६४ वर्षीय रामकृष्ण शाहीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
इलामको सूर्योदय नगरपालिका-४ खड्का गाउँस्थित सडकमा खड्का गाउँबाट बमजम डाँडातर्फ जाँदै गरेको प्र.१-०१-००१ ज ३५३२ नम्बर पिकअप अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ बमजम डाँडा बस्ने ४५ वर्षीय बिलास राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको फिक्कल अस्पताल इलाममा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका पिकअपका सहचालक समेत २ जनाको श्रीनिधि अस्पताल फिक्कलमा उपचार भइरहेको छ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।







डिसी नेपाल







Facebook Comment