काठमाडौंबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

डिसी नेपाल
१७ जेठ २०८३ २१:०१

काठमाडौं। काठमाडौंबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारी साधनमा सिसी क्यामरा जडान गरिएको छ। साथै बसको टिकट पनि अनलाइनमार्फत काट्न सकिने व्यवस्था गरिएको हो।

सरकारले सबै सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा जिपिएस प्रणाली र सिसी क्यामरा जडान गर्ने तयारी गरिरहेसँगै पूर्व यातायात व्यवस्थापन प्रालिले भने काठमाडौंको नयाँ बसपार्कबाट पूर्वतर्फ सञ्चालन हुने सबै सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामरा जडान गरेको हो।

पूर्वयातायात व्यवस्थापन प्रालिका अध्यक्ष रजन रोक्काले नयाँ बसपार्कबाट पूर्वका विभिन्न स्थानमा चल्ने ८१ सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली र सीसी क्यामरा जडान गरिएको जानकारी दिए। काठमाडौं-पूर्व सञ्चालन हुने सार्वजनिक सवारी साधनलाई विसं २०८० साउनदेखि एउटै कम्पनीमा आबद्ध गराएर सञ्चालन गरिँदै आइएको छ।

उक्त कम्पनीमार्फत हाल तेह्रथुम, ताप्लेजुङ, खाँदबारी, काकँडभिट्टा, भद्रपुर, धरान, विराटनगर, मधुमल्ला, गौरीगञ्ज, बनियानी, गाईघाट, इलाम, पशुपतिनगर कटारी, जनकपुर, राजविराज, विरगञ्जलगायत स्थानमा सार्वजनिक सवारीसाधन सञ्चालन हुँदै आएका छन्।

कम्पनीका सञ्चालक राजेन्द्रबहादुर थापाले सरकारले अगाडि सारेको कार्ययोजनालाई पूर्व यातायात व्यवस्थापन प्रालिले कार्यान्वयनमा ल्याएको बताए।

उनले अब यथाशीघ्र आफ्नो कम्पनीको बसमा ‘लगेज ट्याग’ लागू गरिने जानकारी दिए। उनका अनुसार पूर्व क्षेत्रमा जाने यात्रुको सहजताका लागि प्रालिले ‘अनलाइन टिकट’ प्रणालीसमेत लागू गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *