गोरखाका दुई स्थानमा निःशुल्क मुटु परीक्षण शिविर: १ हजारभन्दा बढी नागरिक लाभान्भित

डिसी नेपाल
१९ जेठ २०८३ १२:१५

गोरखा। गोरखा जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आयोजना गरिएको दुई दिने बृहत् निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ।

“सेभ द हार्ट” (मुटु जोगाऔँ), सम्भव नेपाल तथा रोटरी क्लब अफ गोरखाको संयुक्त आयोजनामा जिल्ला अस्पताल गोरखा र सिरानचोक गाउँपालिकास्थित संसारी माध्यमिक विद्यालयमा सो शिविर सञ्चालन गरिएको हो।

ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न नागरिकहरूलाई मुटुरोगको पहुँचमा पुर्‍याउने उद्देश्यले आयोजित यस शिविरबाट जिल्लाका १ हजार २१ जना नागरिकहरूले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिएका छन्।

शिविर अन्तर्गत सिरानचोक गाउँपालिकामा सञ्चालित शिविरमा जम्मा २५९ जनाले सेवा लिएका थिए। संस्थाका महासचिव शेरबहादुर रानाका अनुसार त्यहाँ २०९ जनाको ईसीजी र १०४ जनाको इकोकार्डियोग्राफी (भिडियो एक्सरे) गरिनुका साथै बिरामीहरूलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो।

त्यसै गरी, गोरखा अस्पतालमा आयोजित शिविरमा गोरखा नगरपालिका तथा आसपासका अन्य छिमेकी गाउँपालिकाका ७६२ जना बासिन्दाहरूले निःशुल्क सेवा लिएका छन्। सो शिविरमा ५४२ जनाको ईसीजी, २६९ जनाको इकोकार्डियोग्राफी र करिब पाँच लाख पचास हजार रुपैयाँ बराबरको आवश्यक औषधि निःशुल्क वितरण गरिएको महासचिव रानाले जानकारी दिए।

शिविरमा त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका सीटीभीएस डिपार्टमेन्ट हेड एवं वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल भट्टराईको नेतृत्वमा चिकित्सकहरूको ठूलो टोली खटिएको थियो।

टोलीमा उप-प्राध्यापक डा. प्रभात खाकुरेल, उप-प्रा.डा. खेमराज भुषाल, डा. युना श्रेष्ठ, डा. कुण्डन राज पाण्डे, डा. सुरेश श्रेष्ठ, डा. ग्रीष ढकाल, डा. ज्योति प्रकाश शाह, मेडिकल अफिसरहरू डा. संगम शाह, डा. श्रेया श्रेष्ठ, डा. शृजन गौतम, डा. चन्दन कुमार शाह, डा. लक्ष्मीचन्द्र न्यौपाने, डा. आस्था छन्त्याल, डा. सुमन थापा मगर र डा. भीम चौहान संलग्न थिए।

वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल भट्टराईले परीक्षणका क्रममा १६ जनामा अत्यन्त जटिल मुटुरोगको समस्या देखिएकाले उनीहरूलाई थप उपचारका लागि काठमाडौँस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा रिफर गरिएको जानकारी दिए।

रोटरी क्लब अफ गोरखाका अध्यक्ष रामस्वरूप श्रेष्ठ र राजुप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न भएको शिविरको समापन कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यता रहेको थियो।

सो अवसरमा प्रमुख अतिथि उपप्रमुख रानामगरले गोरखा नगरपालिकाका बासिन्दालाई लक्षित गरी कार्यक्रम तय गरिए पनि अन्य गाउँपालिकाका नागरिकहरूले समेत विशेषज्ञ सेवा पाएकाले शिविर अत्यन्त फलदायी र सराहनीय रहेको बताए।

रोटरी क्लबका अध्यक्षले शिविरलाई सफलतापूर्वक सम्पन्न गर्न अहोरात्र खटिने मुटु जोगाऔँ संस्था, त्रि.वि. शिक्षण अस्पताल, नेपाल कार्डियो डायबेटिज एण्ड थाइराइड सेन्टर, काठमाडौँको टोली तथा औषधि उपलब्ध गराउने विभिन्न औषधि उत्पादक कम्पनीहरूलाई विशेष धन्यवाद दिँदै मायाको चिनो प्रदान गर्नुभएको थियो।

कार्यक्रममा स्वास्थ्य शिविर संयोजक किशोरजंग थापा र उप-संयोजक विनोद बस्नेतले मन्तव्य राख्दै विगत १२ वर्षदेखि लगातार यसरी नै मानवीय सेवा पुर्‍याउँदै आएकोमा ‘सेभ द हार्ट’ लाई विशेष कृतज्ञता ज्ञापन गरे, र यो परोपकारी अभियान आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *