बानेश्वरमा दुई दिने ‘स्टडी इन इन्डिया एक्स्पो’ सुरु, ३० भन्दा बढी भारतीय विश्वविद्यालय सहभागी

डिसी नेपाल
२२ जेठ २०८३ १९:३९

काठमाडौं । भारतीय विश्वविद्यालय तथा कलेजहरूमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थी तथा अभिभावकहरूलाई लक्षित गर्दै काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेस्टमा दुई दिने ‘स्टडी इन इन्डिया एक्स्पो’ भव्य रूपमा सुरु भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको औपचारिक स्वीकृतिमा आयोजना गरिएको यस बृहत् शैक्षिक मेलामा भारतका ३० भन्दा बढी प्रतिष्ठित र शीर्ष श्रेणीका विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष सहभागिता रहेको छ।

अफेयर्स नेपाल र एडिफाइ (Edify) को संयुक्त पहलमा आयोजित यस एक्स्पो जेठ २२ र २३ गते (जुन ५ र ६) सम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ। मेलामा प्रवेश निःशुल्क गरिएको छ।

अफेयर्स नेपालका प्रबन्ध निर्देशक कुमार थपलियाले नेपाल र भारतबीचको भौगोलिक, सांस्कृतिक र सामाजिक निकटताका कारण भारतीय शैक्षिक संस्थाहरू सधैं नेपाली विद्यार्थीहरूको पहिलो रोजाइमा पर्दै आएको बताए।

यस एक्स्पोको विशेष आकर्षणका रूपमा विद्यार्थीहरूले स्थलमै प्रत्यक्ष आवेदन दिन सक्ने र योग्य विद्यार्थीहरूले मेरिटका आधारमा शतप्रतिशतसम्मको छात्रवृत्ति प्राप्त गर्ने सुनौलो अवसर पाउने उनले जानकारी दिए। आयोजकले शुल्क संरचना र भर्ना प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्दै परामर्श प्रदान गरिरहेको स्पष्ट पारेको छ।

एक्स्पोमा भारतका विश्वप्रसिद्ध शैक्षिक संस्थाहरू जस्तै भीआईटी (VIT), मनिपाल (Manipal), सिम्बायोसिस (Symbiosis), एमिटी (Amity), जैन (Jain), एसआरएम (SRM), शारदा (Sharda), चण्डीगढ युनिभर्सिटी, रमाया, ग्राफिक एरा, एमआईटी-डब्ल्यूपीयू लगायतका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श दिइरहेका छन्।

मेलामा सहभागी शारदा युनिभर्सिटीका प्रेसिडेन्ट (इन्टरनेसनल रिलेसन्स) डा. अशोक दर्यानीले नेपाल र भारतको सम्बन्ध सदियौंदेखि प्रगाढ रहेको र शिक्षा क्षेत्रले यसलाई अझ बलियो बनाएको उल्लेख गरे।

भारतीय शिक्षाले नेपाली विद्यार्थीहरूलाई केवल डिग्री मात्र नदिएर वैश्विक बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउने भन्दै उनले शारदा युनिभर्सिटीमा अन्तर्राष्ट्रिय स्तरको वातावरण र व्यावहारिक ज्ञान प्रदान गरिने बताए।

त्यस्तै, आधुनिक पूर्वाधार र विश्वस्तरीय शिक्षाका लागि परिचित एमिटी एजुकेसन ग्रुपका भाइस प्रेसिडेन्ट विपिन शर्माले एमिटी युनिभर्सिटीमा हाल ठूलो संख्यामा नेपाली विद्यार्थीहरू अध्ययनरत रहेको र उनीहरूको शैक्षिक प्रदर्शन उत्कृष्ट रहेको जानकारी दिए।

आफ्नो विश्वविद्यालयले उद्योग-केन्द्रित (Industry-driven) पाठ्यक्रम र उत्कृष्ट प्लेसमेन्ट सुनिश्चित गर्ने भएकाले नेपाली विद्यार्थीहरूका लागि एमिटीका विशेषताहरू, अनुसन्धानका अवसरहरू र छात्रवृत्ति योजनाहरू बुझ्न यो एक्स्पो एउटा उत्कृष्ट माध्यम बनेको उनको भनाइ थियो।

यसपटकको एक्स्पोमा परम्परागत विधाका साथै मिडिया, फिल्म, एनिमेसन र मनोरञ्जन क्षेत्रमा करिअर बनाउन चाहने विद्यार्थीहरूका लागि पनि विशेष शैक्षिक कार्यक्रमहरू प्रस्तुत गरिएका छन्।

टी-सिरिज एजुकेसन (T-Series Education) को प्रवर्द्धनमा संचालित र भारतको नोइडा (उत्तर प्रदेश) मा अवस्थित प्रख्यात मिडिया, फिल्म तथा फेसन कलेज जीकेएफटीआईआई (Gulshan Kumar Film & Television Institute of India) को उपस्थिति मेलाको मुख्य आकर्षण बनेको छ। यो संस्थाले सिनेमा, मास कम्युनिकेसन, पत्रकारिता, फेसन र पर्फर्मिङ आर्ट्समा विश्वस्तरीय व्यावसायिक तालिम र करिअरको अवसर प्रदान गर्दै आएको छ।

टी-सिरिज एजुकेसन र जीकेएफटीआईआई (GKFTII) का प्रेसिडेन्टले मिडिया, चलचित्र निर्माण, फेसन र प्रविधिमा रुचि राख्ने नेपाली युवाहरूका लागि TSSWA र GKFTII का विस्तृत कार्यक्रमहरू ल्याएको जानकारी दिए।

बलिउड र भारतीय मनोरञ्जन एवं फेसन उद्योगको प्रत्यक्ष अनुभव र प्रयोगात्मक प्रशिक्षण दिन यी कोर्षहरू डिजाइन गरिएको भन्दै उनले नेपाली प्रतिभाहरूलाई उद्योगको नेतृत्व गर्न सक्ने गरी दक्ष बनाउन आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

मेलाको पहिलो दिनमै विद्यार्थी र अभिभावकहरूको उत्साहजनक र ठूलो संख्यामा उपस्थिति देखिएपछि आयोजक टोलीले खुसी व्यक्त गरेको छ। अफेयर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक कुमार थपलियाले जानकारी दिए।

उद्घाटन सत्रमा काठमाडौंमा आयोजित यस बृहत् शैक्षिक मेलालाई सफल बनाउन सहयोग गर्ने नेपाल सरकारको शिक्षा मन्त्रालय, भारतबाट पाल्नुभएका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरू, मिडियाकर्मी र विशेष गरी ठूलो संख्यामा उपस्थित विद्यार्थी तथा अभिभावकहरूमा हार्दिक कृतज्ञता व्यक्त गरे।

अफेयर्स नेपाल सधैं विद्यार्थीहरूलाई सहि मार्गदर्शन र पारदर्शी शैक्षिक परामर्श दिन प्रतिबद्ध रहेको भन्दै दुई दिनसम्म चल्ने यस मेलाबाट भारतमा उच्च शिक्षाको सपना बुनेका सम्पूर्ण विद्यार्थीहरूले अधिकतम लाभ लिने विश्वास उनले व्यक्त गरे।

भारतमा विश्वस्तरीय शिक्षा तुलनात्मक रूपमा सुलभ शुल्कमा प्राप्त हुने, भाषा र संस्कृतिको अवरोध नहुने र अन्तर्राष्ट्रिय स्तरको प्लेसमेन्ट सुविधा हुने भएकाले नेपाली विद्यार्थीहरूका लागि यो एक्स्पो एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुने देखिएको छ।

आयोजकले उच्च शिक्षाको तयारीमा रहेका सबैलाई होटल एभरेस्टमा गई उपलब्ध अवसरको लाभ लिन पुनः आह्वान गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *