फिफा विश्वकपमा समय खेर फाल्ने प्रवृत्तिविरुद्ध कडा नियम, जर्सीले मुख छोपेर रेफ्रीसँग बहस गरे सिधै रातो कार्ड

डिसी नेपाल
२४ जेठ २०८३ ११:३०

काठमाडाैं। आगामी फिफा विश्वकप २०२६ लाई अझ तीव्र, अनुशासित र प्रतिस्पर्धात्मक बनाउन अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र अन्तर्राष्ट्रिय फुटबल नियम बोर्डले खेलको गति बढाउने उद्देश्यसहित नयाँ र कडा नियमहरू लागू गरेका छन्।

पछिल्ला अन्तर्राष्ट्रिय खेलहरूमा खेलाडीहरूले नाटकीय रूपमा समय बर्बाद गर्ने रणनीति अपनाउने र खेलको गति घटाउने प्रवृत्ति बढेपछि त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न विश्वकप २०२६ देखि नै यी नियमहरू अनिवार्य गरिएका हुन्।

नयाँ नियमहरूमध्ये सबैभन्दा चर्चित ५ सेकेन्डको नियम रहेको छ, जसअनुसार थ्रो-इन र गोल-किक गर्दा खेलाडीले अनावश्यक ढिलाइ गरेमा रेफ्रीले स्पष्ट रूपमा ५ सेकेन्डको काउन्टडाउन सुरु गर्नेछन्। यदि निर्धारित समयभित्र खेल सुरु नगरिएमा थ्रो-इनको अवस्थामा विपक्षी टोलीलाई बल दिइनेछ भने गोल-किकमा ढिलाइ गरेबापत विपक्षी टोलीले कर्नर किकको अवसर पाउनेछ।

यसैगरी खेलाडी प्रतिस्थापन प्रक्रियालाई पनि कडा बनाउँदै मैदान छोड्ने खेलाडीका लागि १० सेकेन्डको समय सीमा तोकिएको छ। तोकिएको समयभित्र बाहिर ननिस्किएमा नयाँ खेलाडीलाई तुरुन्त प्रवेश दिइने छैन र सम्बन्धित टोलीले करिब १ मिनेटसम्म १० जना खेलाडीका साथमा मात्र मैदानमा संघर्ष गर्नुपर्नेछ।

खेलका दौरान नाटकीय चोट देखाएर समय खेर फाल्ने प्रवृत्तिलाई रोक्न पनि नयाँ व्यवस्था गरिएको छ। अब मेडिकल स्टाफलाई मैदानभित्रै बोलाएर उपचार गराएका खेलाडीले खेल पुनः सुरु भएपछि कम्तीमा ६० सेकेन्डसम्म मैदान बाहिरै बस्नुपर्ने बाध्यकारी नियम बनाइएको छ।

यसका साथै मैदानभित्रको अनुशासनलाई कायम राख्न फिफाले निकै आक्रामक कदम चालेको छ, जसमा विवादका क्रममा कुनै पनि खेलाडीले हात वा जर्सीले आफ्नो मुख छोपेर रेफ्रीसँग बहस गरेमा सिधै रातो कार्ड देखाउने व्यवस्था सामेल छ।

रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै मैदान छाड्ने वा अरूलाई उक्साउने खेलाडी तथा अधिकारीहरूलाई पनि अब कडा कारबाही गरिनेछ। खेललाई अझ पारदर्शी र निष्पक्ष बनाउन भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) को अधिकार क्षेत्र समेत विस्तार गरिएको छ, जसले अब गलत तरिकाले दिइएका कर्नर किक, दोस्रो पहेँलो कार्ड र खेलका अन्य स्पष्ट त्रुटिहरूको समेत समीक्षा गर्न पाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *