बाथरोग सुरुवातमै पहिचान भए सहजै निको हुने, चेतना फैलाउन ‘र्युमा फ्युजन नेटवर्क’ को घोषणा
काठमाडाैं। बाथरोगको समयमै रोकथाम गर्न तथा रोग लागेको प्रारम्भिक चरणमै उचित उपचार गरेर पूर्ण स्वास्थ्यलाभ गर्न सकिने भएकाले यससम्बन्धी जनचेतनालाई अझ व्यापक र प्रभावकारी बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
नेशनल बाथरोग सेन्टरको १३औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा बोल्दै विभिन्न क्षेत्रका विज्ञहरूले बाथरोग सुरुकै चरणमा पहिचान गरी उपचार गरेमा सहज रूपमा निको हुने तथ्य उजागर गरे।
यसको विपरीत, रोग लागेको लामो समयसम्म ढिलो गरी उपचार गर्दा मिर्गौला र फोक्सोजस्ता शरीरका अत्यन्तै महत्वपूर्ण अङ्गहरूमा गम्भीर असर पुग्ने तथा उपचार खर्चसमेत निकै महँगो हुने भएकाले आम नागरिकमा सचेतना फैलाउनु अपरिहार्य भइसकेको वक्ताहरूको भनाइ थियो।
कार्यक्रमका प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा पूर्व राजदूत केदारभक्त माथेमाले मानव जीवनको गुणस्तरमा सुधार ल्याउन बाथरोगलगायत विभिन्न जटिल रोगहरूबारे पर्याप्त जनचेतना फैलाउन आवश्यक रहेको बताए।
युवा अवस्थामै मानिसहरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँदै गएको वर्तमान परिवेशमा स्वस्थ जीवनयापनका लागि जनस्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रमहरूलाई अझ प्रभावकारी ढंगले गाउँ-गाउँसम्म विस्तार गर्नुपर्नेमा उनले जोड दिए।
सेन्टरका अध्यक्ष डा. विनीत वैद्यले बाथरोगको प्रकृतिलाई चित्रण गर्दै यो रोग ‘मुसा बनेर शरीरमा छिर्ने र हात्ती बनेर निस्कने’ खालको खतरनाक हुने भएकाले सामान्य लक्षण देखिनासाथ तुरुन्त चिकित्सकको परामर्शमा उपचार सुरु गर्नुपर्ने सुझाव दिए।
उनले नेशनल बाथरोग सेन्टरले चिकित्सा अनुसन्धान, शैक्षिक गतिविधि तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा निरन्तर काम गरिरहेको जानकारी दिँदै वार्षिकोत्सवकै सुखद अवसर पारेर आजैदेखि ‘र्युमा फ्युजन नेटवर्क’ को औपचारिक घोषणा समेत गरिएको बताए।
सेन्टरका प्रबन्ध निर्देशक डा. रोशन कक्षपतिले अध्यक्ष डा. वैद्यको नेतृत्वमा गरिएको पछिल्लो अनुसन्धानले बाथरोगलाई प्रारम्भिक अवस्थामै सजिलै पहिचान गर्न सकिने कुरा पुष्टि गरेको जानकारी दिए।
अबका दिनमा बाथरोगको जोखिम र यसको पहिचानबारे आमसञ्चार माध्यम तथा सम्बन्धित सरोकारवाला निकायहरूमार्फत अझ व्यापक रूपमा जनचेतना फैलाउनुपर्नेमा उनले विशेष जोड दिए।
कार्यक्रममा आफ्नो ऐक्यबद्धता जनाउँदै कुटुम्ब ब्याण्डका पवित महर्जनले बाथरोग सम्बन्धी जनचेतना अभिवृद्धिका लागि संगीत र ब्याण्डको तर्फबाट विगतदेखि नै सहयोग भइरहेको र आगामी दिनमा पनि यस अभियानलाई निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे।
सोही अवसरमा सेन्टरका पोखरा शाखा प्रमुख डा. कृष्ण ढकाल र मानव संसाधन विभागकी पवित्रा कार्कीलगायतका वक्ताहरूले आम नेपालीलाई बाथरोगको जटिलताबाट जोगाउन जनचेतना नै सबैभन्दा सस्तो र प्रभावकारी माध्यम भएको धारणा राखेका थिए। वार्षिकोत्सव समारोहमा सेन्टरमा लामो समयसम्म निष्ठापूर्वक सेवा गरेका उत्कृष्ट कर्मचारी तथा विभिन्न सहयोगी व्यक्तित्वहरूलाई विशेष सम्मान समेत गरिएको थियो।







डिसी नेपाल







Facebook Comment