सिंहदरबारमा रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक जारी

डिसी नेपाल
२५ जेठ २०८३ १०:०७

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक जारी रहेको छ।

हालै मात्र भारत भ्रमण पूरा गरेर स्वदेश फर्किएका सभापति लामिछानेले समसामयिक राजनीतिक अवस्था, संसद्को गतिरोध र राष्ट्रिय मुद्दाहरूमा साझा सहमति खोज्न यो बैठक बोलाएका हुन्।

सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बसिरहेको उक्त बैठकमा देशका प्रमुख राजनीतिक दलका शीर्ष तथा जिम्मेवार नेताहरूको उपस्थिति रहेको छ।

बैठकमा सत्तापक्ष र प्रतिपक्ष दुवैतर्फका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू समसामयिक विषयमा केन्द्रित भई छलफलमा जुटेका छन्। बैठकमा नेपाली कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र नेकपाका तर्फबाट माधवकुमार नेपाल सहभागी छन्।

त्यसैगरी, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरू पनि बैठकमा सहभागी छन्।

संसदमा पछिल्लो समय देखिएका असमझदारीहरू अन्त्य गर्ने र समसामयिक राष्ट्रिय मुद्दाहरूमा दलहरूबीच साझा धारणा बनाउने विषय नै यो बैठकको मुख्य कार्यसूची रहेको बुझिएको छ।

प्रमुख दलहरूको बाक्लो उपस्थिति रहेको यस बैठकलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भने बहिष्कार गरेका छन्। रास्वपा सभापति लामिछानेले भारत भ्रमण सकेर फर्किएलगत्तै राजनीतिक सक्रियता बढाउँदै शीर्ष नेताहरूसँग यो संवाद थालेका हुन्।

देशको पछिल्लो राजनीतिक समीकरण र संसद्को आगामी कार्यदिशाका सन्दर्भमा दलहरूबीच आपसी समझदारी कायम गर्न यो बैठक फलदायी हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *