प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति सच्याउन र माफी माग्न हर्क साम्पाङको माग

डिसी नेपाल
२५ जेठ २०८३ १३:४५

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसद्को रोष्टममा उभिएर दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिप्रति घम्भीर आपत्ति जनाउँदै उक्त भनाइ तत्काल सच्याउन माग गरेका छन्।

सोमवार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष साम्पाङले देशको कार्यकारी प्रमुखले नै नेपालले अन्य देशको सीमा मिचेको भन्ने आशयको गैरजिम्मेवार अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई तथ्यगत रूपमा पुष्टि गर्न चुनौती दिए।

संसद्‍मा आफ्नो धारणा राख्दै उनले भने, “देशकै प्रधानमन्त्रीले संसद्को रोष्टममा उभिएर जुन खालको राष्ट्रघाती अभिव्यक्ति दिनुभएको छ, त्यो तत्काल सच्याइनुपर्छ भनेर हामीले निरन्तर माग गर्दै आएका छौँ। उहाँले सिमानाको बारेमा नेपालले कहाँ-कहाँ छिमेकीको सिमाना मिचेको रहेछ भन्ने कुरा संसद्‍मा पुष्टि गरेर देखाइदिनुपर्छ। यदि त्यसको पुष्टि गर्न सक्नुहुन्न भने उहाँले सिङ्गो नेपाली जनतालाई सम्बोधन गरेर आफ्नो भनाइ सच्याउनुपर्छ र राष्ट्रसँग माफी माग्नुपर्छ।”

अध्यक्ष साम्पाङले प्रधानमन्त्रीको यो गम्भीर राष्ट्रिय मुद्दा समाधान नभएसम्म संसद्‍मा अन्य नियमित विषय र कार्यसूचीमा प्रवेश गर्नु कुनै पनि दृष्टिकोणबाट उचित नहुने स्पष्ट पारे।

सिमानाको रक्षा र सुरक्षा गर्नु राज्यको सबैभन्दा प्रमुख एवं पहिलो दायित्व भएको औँल्याउँदै उनले सीमामाथि हुने जुनसुकै प्रकारका अतिक्रमणविरुद्ध देशको स्पष्ट र दृढ नीति आवश्यक रहेकोमा जोड दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *