मन्त्रालय घटेर १८ कायम भएसँगै २३ सचिवको सरुवा र जिम्मेवारी हेरफेर

डिसी नेपाल
२५ जेठ २०८३ १७:२८

काठमाडौं। सरकारले प्रशासनिक खर्च कटौती र चुस्त कार्यसम्पादनका लागि मन्त्रालयको सङ्ख्या घटाएर १८ मा सीमित गरेसँगै विशिष्ट श्रेणीका कर्मचारी (सचिव) हरूको व्यापक सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ।

नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ स्वीकृत भएसँगै पुरानो सांगठनिक संरचनाका आधारमा मिलाइएका सचिवका दरबन्दीहरूलाई नयाँ स्वरूपमा पुनः समायोजन गरिएको हो।

यस नयाँ प्रशासनिक व्यवस्थाअनुसार विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा अन्य सरकारी निकायमा कार्यरत २३ जना सचिवहरूको पदस्थापन तथा जिम्मेवारीमा ठूलो फेरबदल गरिएको छ।

सरकारले यसअघि दुई-दुई जना सचिव दरबन्दी रहेका मन्त्रालयहरूमा अबदेखि एक जना मात्रै सचिव रहने नीतिगत निर्णय गरेपछि यो पुनर्संयोजन अनिवार्य बनेको हो।

यसअघिको संरचनाअनुसार अर्थ मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा दुई जना सचिवले कार्यभार सम्हाल्दै आएका थिए। नयाँ कार्यविभाजन लागू भएसँगै ती मन्त्रालयको प्रशासनिक नेतृत्व अब एक–एक जना सचिवमा खुम्चिएको छ।

नयाँ जिम्मेवारी तोक्ने क्रममा सरकारले सचिव भूपाल बराललाई गण्डकी प्रदेशको मुख्य सचिवमा र चन्द्रकला पौडेललाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको छ।

त्यसैगरी प्रमिलादेवी बज्राचार्यलाई विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्र, चिरञ्जिवी चटौतलाई नेपाल ट्रष्टको कार्यालय र सरजुकुमार वैद्यलाई जल तथा ऊर्जा आयोगको सचिवालयको जिम्मेवारी सुम्पिएको छ।

दरबन्दी मिलान र समायोजनका कारण छ जना सचिवहरूलाई हालका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा राखिएको छ।

यसरी अतिरिक्त समूहमा पर्नेहरूमा साविक युवा तथा खेलकुद मन्त्रालयका सचिव लोकनाथ पौडेल, उपराष्ट्रपति कार्यालयका कृष्णहरि पुष्कर, सार्वजनिक खरिद अनुगमन कार्यालयका हरिप्रसाद मैनाली, साविक वन तथा वातावरण मन्त्रालयका डा. गोविन्दप्रसाद शर्मा, साविक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका डिल्लीराम शर्मा र हाल निलम्बनमा रहेका डण्डुराज घिमिरे छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार अतिरिक्त समूहमा राखिएका सचिवहरूमध्ये डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय समन्वय गर्ने विशेष जिम्मेवारी तोकेर खटाइएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *