म्याग्दीमा ४० अर्बको लगानीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

डिसी नेपाल
२६ जेठ २०८३ ६:४०

म्याग्दी। म्याग्दी जिल्लाकै हालसम्मकै सबैभन्दा ठूलो जलविद्युत् परियोजनाका रूपमा हेरिएको १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।

कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालि प्रवर्द्धक रहेको यस आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा सोमबार धार्मिक विधिपूर्वक पूजाआजा गरी विस्फोटक पदार्थको प्रयोग गरेर सुरुङ निर्माणको काम थालेको हो।

आयोजना शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीय अगुवा, प्रवद्र्धक तथा निर्माण कम्पनीका पदाधिकारी र सुरक्षा निकायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।

आयोजना निर्देशक रमण सिंहका अनुसार आगामी चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाले छिट्टै बाँध, गाडपार र घरापमा प्रस्तावित विद्युत्गृह निर्माणस्थल गरी कुल चार ठाउँबाट एकैसाथ सुरुङ खन्ने तयारी गरेको छ।

आयोजना अन्तर्गत कुल ५ किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण हुनेछ, जसका लागि सिभिल ठेकेदार साउथ एसियन इन्फ्रास्ट्रक्चर निर्माणस्थलमा परिचालित भइसकेको छ। आयोजनाको बाँध मुस्ताङको थासाङ गाउँपालिका-४ घाँसास्थित पहिरा थाप्लामा रहनेछ भने मुख्य विद्युत्गृह म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा निर्माण गरिनेछ।

‘रन अफ द रिभर’ (नदीको बहावमा आधारित) प्रकृतिको यस आयोजनामा एक किलोमिटर लामो ‘पेनस्टक’ पाइपलाइन रहनेछ भने विद्युत्गृहदेखि आउटलेटको उचाइ ४८० मिटर रहनेछ। हाल आयोजना स्थलमा प्रवर्द्धक कम्पनी, निर्माण व्यवसायी र सुरक्षाका लागि खटिने नेपाली सेनाको कार्यालय, आवास तथा विस्फोटक पदार्थ भण्डारण गृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

आयोजनाका लागि आवश्यक पर्ने आठ किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ भने आयोजना स्थलसम्म सहज पहुँचका लागि गाडपारमा बेलिब्रिज जडान गर्ने तयारी भइरहेको छ। घरापदेखि दानासम्म २२० केभी क्षमताको एक किलोमिटर प्रसारण लाइन निर्माण गरी उत्पादित बिजुलीलाई राष्ट्रिय केन्द्रीय प्रसारण प्रणालीमा आबद्ध गराइनेछ।

अनुमानित कुल लागत ४० अर्ब रुपैयाँ रहेको यस ठूलो परियोजनामा वित्तीय व्यवस्थापनका लागि ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकले लगानी गर्ने सुनिश्चितता भइसकेको आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर लगानीको समेत विशेष व्यवस्था मिलाएको छ।

अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले यो आयोजना जिल्लाकै गौरवको विषय र अहिलेसम्मकै सबैभन्दा ठूलो जलविद्युत् परियोजना भएको बताउनुभयो। म्याग्दीको नारच्याङ क्षेत्र जलविद्युत् उत्पादनको हब बन्दै गएको सन्दर्भमा यसअघि नै नारच्याङ भएर बग्ने नदीहरूमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजनाहरू निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन्।

जसमा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्तीखोला, ३८ मेगावाटको नीलगिरि-१, ७१ मेगावाटको नीलगिरि-२ र ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना रहेका छन्।

यसबाहेक नारच्याङकै सिमाना भएर बग्ने कालीगण्डकी नदीमा ६६.३ मेगावाट क्षमताको मध्यकालीगण्डकी जलविद्युत् आयोजना तीव्र रूपमा निर्माणाधीन रहेको छ भने ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत् आयोजनाले पनि छिट्टै निर्माण कार्य सुरु गर्ने तयारी गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *