कोहलपुरका विद्यालयमा दुई दिन बिदा

डिसी नेपाल
२७ जेठ २०८३ २०:२०

खजुरा। अत्यधिक गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयमा दुई दिन थप सार्वजनिक बिदा दिइएको छ। कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारद्वारा जारी गरिएको सूचनामा अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यलाई मध्यजनर गर्दै जेठ २८ र २९ गते दुई दिनका लागि विद्यालयमा थप बिदा दिइएको जनाइएको छ।

नगरपालिकाले यसअघि जेठ २५ गतेदेखि २७ गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठनपाठन स्थगन गरेको थियो।

पछिल्ला केही दिन यता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको थियो। गर्मी बढ्दै गएपछि थप दुई दिन बिदा बढाइएको नगरपालिकाले जनाएको छ।

उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको जनाएको छ। केही दिनदेखि यहाँको अधिकतम तामक्रम ४० डिग्री सेल्सियस आसपास रहँदै आएको छ। मङ्गलबार नेपालगन्जको अधिकतम तापक्रम ४१ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो। असार १ गतेदेखि विद्यालयमा नियमित पठनपाठन सञ्चालन हुने सूचनामा उल्लेख छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *