पाकिस्तान नियन्त्रित काश्मिरमा सैन्य हेलिकप्टर दुर्घटना: कर्णेल र दुई मेजरसहित २२ सैनिकको मृत्यु
इस्लामावाद। पाकिस्तान नियन्त्रित काश्मिर (पीओके) मा बिहीबार एक सैन्य हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैन्यकर्मीको दुःखद मृत्यु भएको छ।
सुरक्षा स्रोतहरूका अनुसार पाकिस्तान नियन्त्रित काश्मिरको मुजफ्फराबाद जिल्लाको विकट हिमाली क्षेत्रमा भएको यस दुर्घटनामा ज्यान गुमाउनेहरूमा पाकिस्तानी सेनाका एक कर्णेल, दुई मेजर र अन्य १९ जना सैन्यकर्मी रहेका छन्।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले जारी गरेको आधिकारिक विज्ञप्तिमा हेलिकप्टर उडानका क्रममा अचानक आएको प्राविधिक खराबीका कारण दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी दिइएको छ।
आईएसपीआरले घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै दुर्घटनाको वास्तविक प्राविधिक कारण पत्ता लगाउनका लागि एउटा उच्चस्तरीय छानबिन समितिलाई आदेश दिइसकेको र समितिको प्रतिवेदनपछि मात्र थप विवरण सार्वजनिक हुने जनाएको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यस भयावह हेलिकप्टर दुर्घटनाप्रति गहिरो दुःख र स्तब्धता व्यक्त गर्दै मृतकका शोककुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। उहाँले देशको रक्षाका लागि खटिएका सैनिकहरूको यो क्षति अपूरणीय रहेको उल्लेख गरेका छन्।
भौगोलिक रूपमा विकट र मौसममा आउने उतारचढावका कारण पाकिस्तानको यस क्षेत्रमा सैन्य हेलिकप्टर तथा उड्डयन दुर्घटनाहरूको इतिहास निकै लामो र चुनौतीपूर्ण रहँदै आएको छ।
विशेष गरी यस क्षेत्रमा पाकिस्तानी सेनाले अत्यधिक उचाइमा रहेका अग्रगामी सैनिक चौकीहरूमा बन्दोबस्तीका सामान पुर्याउन, गस्ती गर्न र बिरामी तथा घाइतेहरूको उद्धारका लागि हेलिकप्टरहरूको व्यापक प्रयोग गर्ने गर्दछ।
यसअघि पनि बलुचिस्तान, गिल्गित-बाल्टिस्तान र काश्मिरका विभिन्न हिमाली क्षेत्रहरूमा खराब मौसम र प्राविधिक गडबडीकै कारण सेनाका उच्च अधिकारीहरू सवार हेलिकप्टरहरू दुर्घटनामा परिसकेका छन्, जसमा सेनाका कोर कमाण्डर तहका वरिष्ठ जनरलहरूले समेत ज्यान गुमाउनु परेको थियो।
यस ताजा दुर्घटनाले पाकिस्तानी सेनाको उड्डयन सुरक्षा र कठिन भूगोलमा पुराना हुँदै गएका हेलिकप्टरहरूको मर्मतसम्भारमाथि पुनः गम्भीर प्रश्न खडा गरिदिएको छ।







डिसी नेपाल







Facebook Comment