क्यालिफोर्नियामा अमेरिकी वायुसेनाको बी-५२ बम्बर विमान दुर्घटना: चालक दलका ८ जनाकै मृत्यु
A B-52 Stratofortress from the 2nd Bomb Wing returns home to Barksdale Air Force Base following a Bomber Task Force mission at Andersen Air Force Base, Guam, Aug. 20, 2023. BTF missions demonstrate the credibility of the United States forces to address a global security environment that is more diverse and uncertain than at any other time in history. (U.S. Air Force photo by Airman 1st Class Seth Watson)
काठमाडौं । अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित मोजाभ मरुभूमि क्षेत्रमा सोमबार अमेरिकी वायुसेनाको एउटा ठूलो बी-५२ एच स्ट्रेटोफोर्ट्रेस बमबर्षक विमान उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको छ।
लस एन्जलसबाट उत्तरतर्फ अवस्थित प्रख्यात एडवर्ड्स एयर फोर्स बेसमा स्थानीय समय अनुसार बिहान ११:२० बजे भएको यस दुःखद घटनामा विमानमा सवार सबै ८ जनाको मृत्यु भएको सैन्य अधिकारीहरूले पुष्टि गरेका छन्।
विमान खसेलगत्तै मरुभूमिको ठूलो क्षेत्रमा भीषण आगलागी भएको थियो र दुर्घटनास्थलबाट आकाशतर्फ कालो धुवाँको ठूलो मुस्लो उडेको दृश्य स्थानीय सञ्चारमाध्यमहरूले प्रसारण गरेका थिए। वायुसेनाको ४१२औँ टेस्ट विङका डेपुटी कमान्डर कर्नेल जेम्स हायसका अनुसार मृत्यु हुनेहरूमा सैन्य अधिकारीहरू, सरकारी कर्मचारीहरू र नागरिक ठेकेदारहरू रहेका छन्।
बोइङ कम्पनीले आफ्ना दुई जना कर्मचारी पनि विमानमा सवार रहेको पुष्टि गरेको छ। अधिकारीहरूले दुर्घटना यति भयानक र विनाशकारी थियो कि विमानमा सवार कोही पनि जीवित बच्न सक्ने सम्भावना नरहेको बताएका छन्। मृतकहरूको पहिचान खुलाउनुअघि उनीहरूका परिवार र आफन्तलाई जानकारी गराउने प्रक्रिया चलिरहेको सेनाले जनाएको छ।
वायुसेनाका चिफ अफ स्टाफ जनरल केनेथ विल्सबाकले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । यो विमान कुनै युद्ध वा सैन्य कारबाहीमा नभई वायुसेनाको महत्वपूर्ण ‘राडार आधुनिकीकरण कार्यक्रम’ अन्तर्गत नियमित परीक्षण उडानमा रहेको थियो।
विमानमा पुरानो एनलग प्रणालीलाई विस्थापित गरी नयाँ डिजिटल प्रविधिको ‘एक्टिभ इलेक्ट्रोनिकली स्क्यान्ड एरे’ राडार जडान गरिएको थियो, जसको परीक्षणका लागि २०१६ पछि पहिलो पटक बी-५२ विमान आकाशमा उडाइएको थियो।
दुर्घटनामा परेर देशकै एक मात्र राडार परीक्षण प्रविधियुक्त यो विशेष विमान पूर्ण रूपमा नष्ट भएपछि अमेरिकी वायुसेनाको आधुनिकीकरण योजना र यसै वर्षको अन्त्यतिर गरिने भनिएको उत्पादनसम्बन्धी निर्णयमा ठूलो धक्का लाग्ने अनुमान गरिएको छ।
घटनालगत्तै उद्धार कार्यलाई सहज बनाउन एडवर्ड्स एयर फोर्स बेसको धावनमार्ग बन्द गरी त्यहाँ अवतरण गर्ने अन्य विमानहरूलाई अन्यत्रै डाइभर्ट गरिएको थियो।
उड्डयन सुरक्षा विशेषज्ञहरूका अनुसार विमानले उडान भर्ने बित्तिकै धेरै माथि नपुगी अचानक दिशा बदलेर प्रतिमिनेट ५ हजार फिटको तीव्र गतिमा तल खसेकाले यसमा ‘फ्लाइट कन्ट्रोल’ (विमान नियन्त्रण प्रणाली) मा गम्भीर खराबी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
यद्यपि, मर्मतसम्भारको त्रुटि, इन्जिनको खराबी वा नयाँ राडार उपकरणको प्राविधिक गडबडीमध्ये के कारणले यो दुर्घटना भयो भन्ने कुरा यकिन हुन बाँकी छ। सैन्य अधिकारीहरूले घटनाको छानबिनका लागि सुरक्षा अनुसन्धान समिति गठन गरिसकेका छन् र यसको अन्तिम रिपोर्ट आउन करिब ६ महिना लाग्न सक्ने बताइएको छ।







डिसी नेपाल







Facebook Comment