बजेट तथा नीति कार्यान्वयनमा नयाँपन छैन : प्रमुख सचेतक थापा

डिसी नेपाल
२ असार २०८३ १७:५७

काठमाडौं। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले वर्तमान सरकारप्रति कडा टिप्पणी गर्दै बजेट तथा नीति कार्यान्वयनमा नयाँपन नदेखिएको आरोप लगाएकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले झण्डै दुईतिहाइको जनादेश पाए पनि अपेक्षित सुधार र नवीनता देखाउन नसकेको बताइन्। उनका अनुसार बजेट पुरानै संरचनामा हल्का परिमार्जन मात्र गरिएको जस्तो देखिएको छ।

थापाले स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रमा छुट्याइएको बजेट ‘सहरी केन्द्रित र महत्वाकांक्षी’भएको टिप्पणी गर्दै यस विषयमा सांसदहरूले निरन्तर प्रश्न उठाइरहेको बताइन्।

उनले भनिन्,‘हामी के चाहन्थ्यौँ भने, नयाँ बनेर आएको झण्डै दुई तिहाइ म्यान्डेट पाएको सरकारले केही चिज नयाँ गरोस् भन्ने थियो। तर पुरानै चिज वा मुद्दामा बजेट बनेको छ, त्यही बजेटलाई हल्का परिमार्जन गरेको जस्तो मात्र देखिएको छ। बजेट सहरी केन्द्रित र महत्वकांक्षी मात्र देखिरहेको छ।’

उनले मन्त्रीहरूको अनुपस्थितिलाई लिएर संसदीय समितिमा देखिएको असहजताबारे पनि टिप्पणी गरिन्।

पूर्वाधार समितिमा मन्त्री उपस्थित नभएको अवस्थामा छलफल अघि बढे पनि निर्णय प्रभावकारी नहुने भएकाले अभ्यासअनुसार मन्त्रीको उपस्थितिलाई आवश्यक मानिएको उनको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *