राष्ट्रिय स्वतन्त्र पार्टी: कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
कर्णाली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापतिमा मदन खड्का भारी मतका साथ विजयी भएका छन्।
आज सम्पन्न पार्टीको प्रथम कर्णाली प्रदेश महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा आफ्ना प्रतिस्पर्धीद्वय नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई निकै फराकिलो मत अन्तरले पराजित गर्दै खड्का नेतृत्वमा चयन भएका हुन्।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ४०० मत खसेकोमा विजयी खड्काले २८८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिस्पर्धी उपाध्यायले ६३ मत र अर्का प्रतिस्पर्धी बस्नेतले ३५ मत मात्र प्राप्त गरे।
प्रदेश सभापतिमा निर्वाचित खड्का रास्वपा स्थापनाकालदेखि नै कर्णालीमा संगठन विस्तार, परिचालन र सुदृढीकरणमा निरन्तर सक्रिय रहँदै आउनुभएको नेताका रूपमा चिनिन्छन्। उनका प्रतिस्पर्धी बस्नेत भने गत फागुन महिनामा मात्रै नेकपा (एमाले) परित्याग गरी रास्वपामा प्रवेश गरेका थिए।
बस्नेतले यसअघि गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा दैलेख क्षेत्र नम्बर १ बाट उम्मेदवारी समेत दिएका थिए। यो जितसँगै कर्णालीमा रास्वपाको सांगठनिक कमान्ड पुनः खड्काकै हातमा पुगेको छ, जसले आगामी दिनमा प्रदेशमा पार्टीको गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।







डिसी नेपाल







Facebook Comment