विश्वकप फुटबलः इन्जुरी समयको निर्णायक गोलले घानालाई रोमान्चक जित, पानामा स्तब्ध
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा घानाले पानामामाथि १-० को रोमान्चक जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
क्यानडाको टोरन्टोस्थित बीएमओ फिल्डमा बिहीबार बिहान सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा घानाले खेलको अन्तिम क्षणमा गोल गर्दै महत्त्वपूर्ण तीन अंक खोस्न सफल भएको हो।
खेलको पहिलो हाफमा पानामाले निकै प्रभावशाली प्रदर्शन गर्दै अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेको थियो। मुख्य प्रशिक्षक थोमस क्रिस्टियान्सेनको रणनीतिअनुसार मैदान उत्रिएको पानामाले खेलमा केही उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि घानाको बलियो रक्षापंक्तिलाई तोड्न भने असफल रह्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफमा घानाले आफ्नो खेलमा व्यापक सुधार गर्दै आक्रामक रणनीति अख्तियार गरेको थियो।
निर्धारित ९० मिनेटको समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा खेल बराबरीतिर धकेलिएको थियो। तर, खेलको इन्जुरी समयको पाँचौँ मिनेट अर्थात् ९५औँ मिनेटमा घानाका क्यालेब यिरेन्की टोलीका लागि नायक बने।
ब्रान्डन थॉमस-असान्टे र एन्टोइन सेमेन्योको उत्कृष्ट एवं समन्वयपूर्ण आक्रमणलाई सदुपयोग गर्दै यिरेन्कीले बललाई जाली चुमाएका थिए। ९५औँ मिनेटमा भएको यो निर्णायक गोल विश्वकप इतिहासमै घानाले सबैभन्दा ढिलो समयमा गरेको गोलका रूपमा समेत दर्ता भएको छ।
यो जितसँगै घानाले समूह ‘एल’ मा महत्त्वपूर्ण तीन अंक जोड्दै बलियो उपस्थिति जनाएको छ। समान तीन अंक नै रहेको इङ्गल्यान्डसँगै घाना समूहको शीर्ष स्थानमा उक्लिएको छ।
यसअघि भएको खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गरेको थियो। यता खेलभरि उत्कृष्ट र प्रसंशायोग्य प्रदर्शन गरेर पनि अन्तिम समयको आत्मघाती जस्तो भुक्काका कारण गोल बेहोरेको पानामाले भने प्रतियोगितामा अंकविहीन यात्रा सुरु गर्नुपरेको छ।







डिसी नेपाल







Facebook Comment